काठमाडौँ । राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार रुपन्देही जिल्लाको कार्य प्रगति सबैभन्दा राम्रो देखिएको हो ।
७७ जिल्ला प्रशासन कार्यालयमध्ये ९८ अङ्क प्राप्त गरी रुपन्देही पहिलो भएको हो । त्यसैगरी दोस्रोमा पाल्पाले ९७.७५ अङ्क प्राप्त गरेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक कार्य प्रगतिका आधारमा मन्त्रालयले कुल प्राप्ताङ्क दिई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ ।
१०० पूर्णाङ्कमा ९७.६२ अङ्क ल्याएर बागलुङ तेस्रो स्थानमा छ । त्यस्तै पश्चिमी रुकुम जिल्लाले ९७.५० अङ्क ल्याई चौथो स्थानमा छ । त्यस्तै, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा पछाडि धनुषा जिल्ला परेको छ । सो जिल्लाले ७६.२५ अङ्क मात्र प्राप्त गरेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार वर्षमा एक पटक सार्वजनिक गरिने प्रतिवेदनअनुसार रुपन्देही सबैभन्दा राम्रो अङ्क प्राप्त गरेको जिल्ला बनेको छ । प्रमुख जिल्ला अधिकारीले हरेक आर्थिक वर्षमा मन्त्रालयका सचिवसँग कार्य सम्पादन मूल्याङ्कन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको र सोही व्यवस्थाअनुसार मन्त्रालयमा पेस भएको प्रतिवेदनअनुसार सो अङ्क प्रदान गर्ने गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

लुम्बिनी रिभ्यू