काठमाडौ । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिषय बिज्ञतालाई समाहित गर्न नसके अबको राजनीति प्रभावकारी र परिणाममुखी हुन नसक्ने बताउनु भएको छ ।

नेकपा (एमाले) विपद् ब्यवस्थापन तथा स्वयम्सेवा विभागद्धारा शनिबार काठमाण्डौमा आयोजित विपद् प्रतिकार्य तथा स्वयम्सेवक बिषयक कार्यशालालाई संवोधन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले सही राजनीतिक दिशामा बिज्ञताको मांशपेशी नभरे समृद्धिको सुन्दर तस्बिर बन्न सक्दैन भन्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले हिजो अधिकार प्राप्तिको लडाईमा अग्रपंक्तीमा रहेको स्मरण गर्दैै अब समृद्धि प्राप्तिका लागि प्रभावकारी कदम चालिरहेको बताउनुभयो ।

विपद् ब्यवस्थापनमा एमालेले अग्रणी भुमिका खेलिरहेको चर्चा गर्दै उहाँले जोखिम न्यूनिकरण र ब्यवस्थापनका लागि हरेक निकाय, संरचना, कार्यक्रम र कानुनी पक्षहरुमा समन्वय जरुरी रहेको चर्चा गर्नुभयो ।
बरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा निर्णयहरु गरेर मात्र नपुग्ने बताउदै तिनको जिम्मेवार कार्यन्वयनको आवश्यकता पनि औल्याउनुभयो ।
विपद्का रुप र न्यूनिकरणका उपायबारे आम नागरिकलाई सुसुचित गराउन र पूर्व तयारी तथा ब्यवस्थापनका लागि भौतिक तयारीमा जुट्न उहाँले जोड दिनुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हरेक प्रकारका विपद्हरुमा एमाले पीडित र प्रभावितहरुको साथी हुने गरेको चर्चा गर्नुभयो । उहाँले पूर्व तयारी, उद्दार र राहतका लागि स्थायी प्रकृतिको स्वयम्सेवी समुह आबश्यक रहेको बताउनुभयो ।
सो अवसरमा एमाले विपद् ब्यवस्थापन तथा स्वयम्सेवा बिभागका प्रमुख खिमलाल भट्राईले विभागले योजनावद्ध र ब्यवस्थित तरिकाले तिब्र गतिमा आफ्ना काम अघि बढाएको जानकारी गराउनुभयो । उहाँले बिषय बिज्ञहरुको साथ लिएर विपद् ब्यवस्थापनमा नीतिगत र परिणामुखी कामहरु गर्न आफू सकृय रहेको बताउनुभयो ।

सो अवसरमा विपद् सम्वन्धि विभिन्न बिषय बिज्ञहरुद्धारा पाँच वटा कार्यपत्र प्रस्तुत गरिएका थिए । जसमध्ये विपद ब्यवस्थापनमा सशस्त्र प्रहरी बिषयमा सशस्त्र प्रहरी बलका एआईजी बंशिराज दाहाल, विपद्, पूर्वाधार र पूर्व सूचना प्रणाली बिषयमा विपद् अध्ययन केन्द्रका निर्देशक डा.वसन्तराज अधिकारी, विपद् पूर्व तयारी एवम् राष्ट्रिय जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण बिषयमा प्राधिकरणका निर्देशक अनिल पोखरेल, नेपालको भूकम्पीय जोखिम तथा न्यूनिकरण र ब्यवस्थापनका लागि गर्नुपर्ने कायहरु बिषयमा भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठ र विपद् ब्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको कार्य विभाजन बिषयमा बिषय बिज्ञ दिनानाथ भण्डारीले कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो ।

लुम्बिनी रिभ्यू