बुटवल, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थारु समुदायले आइतबार अट्वारी पर्व मनाउदैछन् । हरेक वर्षको कुशेऔशी पछिको आइतबार मनाउने यो पर्वलाई कतै आइतवारी तथा अट्वारी पर्व भन्ने गरिन्छ । परापुर्व कालका थारु समुदायका राजा दङ्गीशरण माथी आक्रमण हुदाँ पाँच पाण्डव मध्येका भिमको सहयोगले दंगिसरण बाँचेको र रावण समेत परास्त भएकाले भिम जस्तै बलियो हुने मान्यताले थारु समुदायका पुरुषले आजको दिनमा वर्त बसी पुजाअर्चना गर्ने चलन छ । थारु राजा दंगीशरणको सुरक्षा गरेका भिमलाई भगवानको रुपमा मान्दै थारु समुदायका पुरुषहरु आज दिनभर ब्रत बसी साँझ पख गन्यारी भन्ने काठबाट निकालिएको चोखो आगोमा पकाएको परिकार खाएर यो पर्व मनाउने गर्दछन् । चेलीबेटीलाई श्रद्धा सहित सम्मान गर्ने चलनले यो पर्वलाई दाजुभाइ तथा दिदीबहिनी बिचको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रुपमा समेत लिइन्छ ।
माघी पछिको दोश्रो ठुलो चाड अट्वारीमा थारु समुदायका पुरुष ब्रत बसी गन्यारी काठबाट निकालेको चोखो आगोमा एकापट्टी मात्र पकाएको रोटी भिमलाई चढाउने र प्रसादको रुपमा खाने चलन छ । यसरी पुजा गरिएको प्रसाद आफूले खानु अघि चेलीबेटीका लागि एक भाग छुट्टाएर राख्ने चलन छ, जसलाई अग्रासन भन्ने गरिन्छ ।
बर्का अट्वारी पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने चलन छ । यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् । पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ । आइतबार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ ।
अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज थारु समुदायलाई विदा दिएको छ ।

लुम्बिनी रिभ्यू