काठमाडौं । दसैं भित्रिए पनि पाँच वटा मुख्य राजमार्गमा अझै पनि यातायात सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य पाँच वटा राजमार्गमा अझै पनि यातायात सुचारु हुन नसकेको जनाएको हो ।
मन्त्रालयका अनुसार अरनिको राजमार्ग, बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्गमा अझै पनि यातायात सञ्चालनमा आउन नसकेको हो ।
जसमा अरनिको राजमार्ग अन्तरगत जार्चा कोदारी खण्डमा ५ किलोमिटरमा लिपिङ पुल र लार्चाको बेलिब्रीज बगाएका कारण यातायात अवरुद्ध भएको छ । लार्चामा ह्युमन पाईप, पेनस्टक पाइप र लिपिङ बेलीब्रिज जडान गरेर यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
यस्तै बीपी राजमार्गको चौकीडाँडा कालढुंगा खण्डको १८ किलोमिटरमा करिव १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारण विच–बिचमा सवारी साधन रोकिएका छन् । दुबैतर्फबाट पहिरो सफा गर्ने काम भइरहेको, रोशी खोलाले पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरेर अस्थायी रुपमा यातायात सञ्चालन गरिने मन्त्रालयको योजना छ ।

लुम्बिनी रिभ्यू