काठमाडौँ, असोज । देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढि काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले “पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेंगु सङ्क्रमण फैलिने देखिन्छ ।”

लुम्बिनी रिभ्यू