रुपन्देही, बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा लिखित बयान सुरु भएको छ ।
लमिछानेको बिहान साढे १० बजेबाट भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरेको हो । लिखित बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पंडित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलले बयान लिएर भरसक आजै सक्ने जानाकारी दिनुभयो । सरकारी वकिलले वयान सकेपछि लामिछानेलाई आजै कास्की पठाउने रुपन्देहीका प्रहरी प्रमुख एसपी रंजीतसिंह राठौरले बताउनुभयो । मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका छन् । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न बन्देज गरेको छ । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

लुम्बिनी रिभ्यू