रुपन्देही, बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा वयानका लागि रुपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्कीको पोखरा लगिदैछ ।
लामिछानेलाई भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमार्फत पोखरा पठाइने छ । यद्यपि बाक्लो हुस्सु लागेकाले बिहान विमानस्थल बन्द छ । हुस्सुले अहिले भैरहवा विमानस्थलको भिजिविलिटी ८ सय मिटर मात्रै रहेकाले १ हजार ६ सय माथि पुगेपछि मात्रै उडान हुने विमानस्थलले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख रन्जीतसिंह राठौरले विमान खुलेलगत्तै लामिछानेलाई पठाइने जानाकारी दिनुभयो । लामिछानेलाई लैजानेभएपछि अहिले विमानस्थल आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लामिछानेको बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा साझ ८ बजे लिखित बयान सकिएको थियो । बयान लगत्तै पोखरा लगिने तयारी भएपनि विमान नउडेका कारण जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको थियो । सरकारी वकिलको कार्यालयले ३ दिनमा साढे २३ घण्टा लगाएर बिहीबार साझ ८ बजे बयान सकेको थियो । त्यसक्रममा लामिछानेलाई ७४ प्रश्न सोधिएको न्यायधिवक्ता प्रेमराज पौडेलले बताउनुभयो । अब सरकारी वकिलको कार्यालयले बयानका आधारमा प्रतिवेदन तयार गर्ने छ ।
लामिछानेको लिखित बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पंडित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता थियो । वयान सकिए लगत्तै लामिछानेलाई कडा सुरक्षा घेरामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको ठूलो घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र लैजाने गरिएको थियो । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याएसँगै सहकारी पीडित र रास्वपाका कार्यकर्ताले भैरहवामा प्रर्दशन गरेका थिए । बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ। जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो। अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।

लुम्बिनी रिभ्यू