• Saturday 25th July 2026

सहकारीको रकम अपचलन विरुद्ध रवि सहित ४२ विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

सहकारीको रकम अपचलन विरुद्ध रवि सहित ४२ विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

मूल अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ दाबी गरिएको थियो । त्यसमध्येका संगठित अपराध कसुरमा गितेन्द्रबाबु राईसहित १७ जनाबाट २ करोड ७ लाख ९४ हजार ५४० रुपैया माग दावी गरिएको छ । रवि, छवि र लक्ष्मीसहित १४ जना नयाँ र बाँकी ८ जना नयाँ १४ र ८ जना पुराना गरी २२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८४१ रुपैया माग दाबी गरिएको छ । गोर्खा मिडियामा आवद्ध रवि, छवि, जीवि र लक्ष्मीप्रसाद पौडेलको हकमा १० करोड ९९ लाख ३६ हजार रुपैया बिगो दाबी दावी गरिएको छ ।


  • लुम्बिनी रिभ्यू

अमृता अनमोल

बुटवल, बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध आज आइतबार जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।
लामिछाने,छविलाल जोशी, जीवी राई सहित पुरक अभियोगका १४ र सुरु मुद्दाका २८ सहित ४२ जनाविरुद्ध रूपन्देही अदालतमा मुद्दा दर्ता भएको हो ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले रवि, छविसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राईसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको बताउनुभयो। उहाका अनुसार पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । त्यसमध्ये पुरक अभियोगमा रवि, छवि र लक्ष्मीसहित १४ जना नयाँ र बाँकी ८ जना सुरु प्रतिवादी मध्येकालाई थप कसुर र बिगो मागसहित अभियोगपत्र दर्ता भएको छ ।
मूल अभियोगपत्रमा २८ जनाबाट ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ दाबी गरिएको थियो । त्यसमध्येका संगठित अपराध कसुरमा गितेन्द्रबाबु राईसहित १७ जनाबाट २ करोड ७ लाख ९४ हजार ५४० रुपैया माग दावी गरिएको छ । रवि, छवि र लक्ष्मीसहित १४ जना नयाँ र बाँकी ८ जना नयाँ १४ र ८ जना पुराना गरी २२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८४१ रुपैया माग दाबी गरिएको छ ।
गोर्खा मिडियामा आवद्ध रवि, छवि, जीवि र लक्ष्मीप्रसाद पौडेलको हकमा १० करोड ९९ लाख ३६ हजार रुपैया बिगो दाबी दावी गरिएको छ । सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका संचालक रहेका दिनेश रोकालाई मात्र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले थप कसुर र बिगोसहितको १७ जनाविरुद्धको मुद्दा बिहीबार नै अदालतमा लगेको थियो । रवि लामिछानेसहितको पुरक अभियोजन आइतबार मात्र अदालत पठाएको थियो । थप अभियोगको फाइल बिहीवारदेखि आइतबारसम्म रुजु गरेको अदालतले पुरक अभियोजन फाइल भने तीन घण्टामै रुजु गरेर दर्ता गरेको हो । यसअघि अदालतले सुरु मुद्दाको फाइल सर्वोच्चबाट फिर्ता आउन ढिलाइ भएको र त्यससँग रुजु गर्न नपाएको भन्दै दुवै मुद्दा दर्ता गरेको थिएन ।
रुपन्देही अदालतमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो । यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ ।उनीहरूविरुद्ध २ करोड ७ लाख रूपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलले बताउनुभयो ।
यसअघि १ अर्ब ३ करोड बिगोसहित उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएको थियो । सञ्चालक समिति सदस्यसमेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोडभन्दा बढी बिगो कायम गरिएको छ ।
सुप्रिमबाट रविकै नाममा २ करोड रूपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । नक्कली ऋणी खडा गरेर ऋण लिएका रविले सरकारी वकिल कार्यालय रुपन्देहीमा भने इन्कारी बयान दिएका थिए । सरकारी वकिल कार्यालयले पहिलो चरणमा २८ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षमा थुनामा राख्न आदेश दिइसकेको छ ।
सुप्रिममा १ हजार ८३१ बचतकर्ताको १ अर्ब ३१ करोड रूपैयाँमध्ये ८६ करोड १८ लाखभन्दा बढी अपचलन भएको अनुसन्धानको निष्कर्ष छ । २०५७ सालमा बुटवलमा दर्ता भएको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको नाम परिवर्तन गरी जीबी राईले २०७२ फागुनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था बनाएका थिए । सुप्रिम ठगी प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुनसहित ६ जना यसअघि नै धरौटीमा छुटेका थिए ।प्रतिवादीहरूमध्ये अधिकांश अहिले पनि फरार छन् । सुप्रिमको सञ्चालक समितिका अध्यक्ष जीबी राई, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, भूपेन्द्र राई, देवेन्द्रबाबु राई, धिरजकुमार दास, असरफ अली सिद्धिकी, बुद्धि गुरुङ, दिनेश रोका, आशिष आनन्द, मजहर मोहम्मद, भगवती लिगल ढुंगाना, मनप्रसाद गुरुङ, पौबहादुर गुरुङ, स्यान्ड्रिक राजभण्डारी, आशिष रानाभाट, हेमन्त अधिकारी र कविता तामाङ अझै फरार छन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend