बुटवल, न्यानो लुगा अभावले विद्यालय आउन समस्या भएका बालबालिकालाई छनोट गरी रुपन्देहीमा न्यानो पोशाक वितरण गरिएको छ ।
रुपन्देहीको विकट रोहिणी गाउँपालिकाका विपन्न समुदायका विद्यार्थीलाई शनिबार पोशाक वितरण गरिएको छ । पहिलो पाइला नेपाल बुटवल शाखाले एक कार्यक्रमको आयोजना गरी पशुपति माध्यमिक विद्यालय पर्साका ३ सय ३९ विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

पहिलो पाइलाका अध्यक्ष सन्तोष बन्जाडेले न्यानो लुगा अभावमा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन पोशाक वितरण गरेको बताउनुभयो । पहिलो पाइला नेपाल बुटवल शाखाका प्रथम उपाध्यक्ष तथा न्यानो माया अभियानका कार्यक्रम संयोजक सन्तोष केसीले निकै विपन्न समुदायका बालबालिका रहेको र पोशाक नहुदा समस्या भएको देखेपछि न्यानो पोशाक सहयोग गरेको बताउनुभयो ।
पोशाक वितरण कार्यक्रमका लागि बुटवल सुनचाँदी व्यवसाय संघ, एमए डब्लु इन्टरप्राइजेज र बुटवल बाइकर्सबाट विशेष आर्थिक सहयोग भएको थियो । पोशाक पाएपछि विद्यार्थीहरुले अब नियमित विद्यालय आउने बताएका थिए ।

न्यानो लुगा वितरण कार्यक्रम रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष शिवकान्ति चमार , पहिलो पाइला नेपाल केन्द्रीय वरिष्ठ उपाध्यक्ष आयुष पौडेल र गाउँपालिका शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले आफ्नो अमूल्य योगदान र आशीर्वाद प्रदान गर्नुभयो। कार्यक्रममा पहिलो पाइला नेपाल बुटवल शाखाका सदस्यहरू, गाउँपालिका जनप्रतिनिधिहरू, वडा प्रतिनिधिहरू, शिक्षक, अभिभावकहरू र विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए।
पहिलो पाइला नेपाल बुटवल शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै जहाँ दुख्छ त्यहाँ पहिलो पाइला पहिले पुग्ने बताउनुभयो ।
पहिलो पाइलाले यसअघि अर्घाखाँची लगायत आसपास जिल्लामा पनि न्यानो माया अभियान संचालन गरेर विपन्न बालबालिकाको शिक्षा स्वास्थ्य र बाल विकासमा सामाग्री सहयोग गरेको थियो । युवाहरु संगठित भएर पछिल्लो समय पहिलो पाइला मार्फत समाज सेवामा काम गरिरहेका छन् ।

लुम्बिनी रिभ्यू