लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा ५ सय जनाको श्रामणेर (अल्पकालिन भिक्षु) प्रबज्या कार्यक्रम शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा ५ सय जनालाई बौद्ध धर्मगुरुहरुबाट पहेलो चीवर प्रदान गरी श्रामणेर प्रवज्यामा सहभागी गराइएको हो ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोष सहितका विभिन्न संस्थाहरूको सह–आयोजनामा मंगलबार कुलपुत्र प्रबज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।
संघनायक बोधीसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन, थाई धम्मदुुतका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरुहरुले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन् । प्रबज्या समारोहलाई सम्बोधन गर्दै नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले बुद्ध जन्मस्थल लुम्बिनीमा बुद्धको उपदेशलाई ग्रहण गर्न पाउनु ठूलो अवसर भएको बताउँदै थाईल्याण्ड सहकार्य गर्न सधै तयार रहेको बताए । उनले शान्तिका लागि बुद्धको शिक्षा उपयोगी रहेको बताए ।
प्रवज्या समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई छोटो अवधिका लागि भएपनि व्यवहारमा लागू गर्ने कार्यक्रम महत्वपूर्ण रहेको बताए । उनले बुद्ध दर्शन समुदाय, व्यक्ति बिशेष नभई मानव जीवनका लागि भएकाले यसलाई जीवनमा लागू गर्न खोज्ने कार्यमा सहभागी भएकोमा बधाई समेत दिए । उपाध्यक्ष डा. लामाले बुद्ध दर्शन मानव दर्शन भएको बताउँदै प्रवज्यामा रहेकाहरुले जीवनको महत्वपूर्ण इतिहासमा रेकर्ड गराउन सफल भएको बताए ।
यसैगरी अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु निग्रोधले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धको शिक्षालाई व्यवहारमा लागू गराउनका लागि भिक्षु, लामा, गुरुहरुको आवश्यकता पर्ने बताउँदै त्यसैका लागि प्रबज्या कार्यक्रम राखिएको बताए । उनले बुद्धजन्मभूमि लुम्बिनीमा भएको ५ सय जनाको प्रवज्याले बुद्धको उपदेशलाई विश्वभर फैलाउन समेत सहयोग गर्ने बताए ।
अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्नेछ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले आगामि चैत ३ गतेसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरु पालना गर्नुपर्ने हुन्छ ।
फागुन १४ गतेदेखि शुरु भएको प्रवज्यामा फागुन १६ गते ललितपुर स्थित अक्षेश्वर महाविहारमा केश मुन्डन गरेका थिए । मंगलबार पहेलो चीवर लगाउन योग्य भएका श्रामणेरहरुले आफूहरुले पहेलो चिवरण ग्रहण गर्न पाउदा निकै खुशी लागेको बताएका छन् ।

चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराईने आयोजकले जनाएका छन ।
लुम्बिनीमा गरिएको अल्पकालिन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

सन् २०११ मा एक हजार जना, २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना, सन् २०२३ मा ५ र सन् २०२४ मा १२५० जनालाई प्रव्रज्या गराइएको थियो ।
प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्रचार्य, राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथ लगायतको उपस्थिति थियो । प्रवज्या सामाजिक नेपालको व्यवस्थापनमा भएको कार्यक्रम अन्तर्गत विहिबार भिक्षाटन, फागुन २४ गते लुम्बिनी उद्यानमा दीप प्रज्वलन, चैत ३ गते प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्रमन्त्री राणाकाे लुम्बिनी भ्रमण
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् । राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिईन । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । मन्त्री राणसँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागिता रहेको थियो ।
परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतीहरुको रुपन्देहीको भैरहवामा भएको बेलामा सहभागि हुन आएको बेला बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेकी हुन् । भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागिता रहेको थियो ।

लुम्बिनी रिभ्यू