बुटवल– अपांगता भएका व्यक्तिहरुको संस्थागत सशक्तिकरण सम्बन्धी कार्यक्रम बुटवलमा सुरु भएको छ । अपांगता महिला संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरको आर्थिक सहयोगमा कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै शुक्रबार अपांगता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकालले अपांगता र महिला भएकै कारण अपांगता भएका महिलाहरु दोहोरो मारमा परेको बताउनुभयो । यस्ता महिलाहरुलाई सामाजिक संघसस्थामा आवद्ध गराएर अनुभव र सिकाइ आदानप्रदान गराउने र अधिकार प्राप्तिमा सहयोग गर्न कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो । अध्यक्ष ढकालले आफै अपांगता भएपनि वा परिवारका सदस्यमा अपांगता भएपनि महिला नै प्रभावित हुने भएकाले यस्ता महिलाहरुले अपांगताका कारण धेरै समस्या भोग्नुपरेको अध्यक्ष ढकालले बताउनुभयो । परिवारभित्र मात्र खुम्चिएका अपांगता भएका महिलालाई संघसस्थामा आवद्ध गराएरअपांगता आफूमा मात्र होइन अरुमा पनि छ र अपांगतालाई जितेर पनि सहज रुपमा जिउन सकिन्छ भन्ने सिकाउन कार्यक्रम फलदायी हुने उहाले बताउनुभयो ।

कार्यक्रमको पहिलो दिन संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहजीकरण गर्दै उहाले अपांगता भएका महिला र आम महिलाका समस्यासँगै लैंगिकताका कारण सशक्तिकरण र क्षमता विकासमा परेका समस्याबारे विश्लेषण गर्नुभएको थियो । साथै कसरी अपांगता भएका महिलाले व्यक्तिगत र संस्थागत क्षमता विकास गर्ने र त्यसबाट फाइदा लिने भन्नेबारेमा पनि सहजीकरण गर्नुभएको थियो ।
चैत १५ गते शुक्रबारदेखि सुरु भएको कार्यक्रम ३ दिनसम्म चल्ने छ । कार्यक्रममा बुटवलसहित आसपासका करिब ३ दर्जन महिलाको सहभागिता छ ।


लुम्बिनी रिभ्यू