• Saturday 25th July 2026

पाैडेलकाे अर्को पाैरख : झण्डै दुई अर्व लगानीमा पहिलाे फ्रेन्च फ्राइज उद्योग 

पाैडेलकाे अर्को पाैरख : झण्डै दुई अर्व लगानीमा पहिलाे फ्रेन्च फ्राइज उद्योग 

उद्योग स्थापना लगत्तै उत्पादन भारत निर्यात हुन थालिसकेकाे छ ।


  • लुम्बिनी रिभ्यू

 

काठमाडौ ।  रूपन्देहीको शुद्धाेधनमा नेपालमै पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ। मासु ब्यावसायमा आधुनिकता भित्र्याएर चर्चा कमाएका उद्यमी कृष्णप्रसाद पौडेलले यस्तो उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योग स्थापना लगत्तै उत्पादन भारत निर्यात हुन थालिसकेकाे छ ।  पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइज भारत निर्यात भइसकेको छ।

फागुनदेखि व्यावसायिक उत्पादन सुरू गरेको उद्योगले  काठमाडौंमा किसान, वितरक, नीति निर्माता र सरोकारवालाहरूसँग आफ्ना उत्पादन सार्वजनिक गर्याे  ।

उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन उत्पादन गर्छ। यो उद्योग नेपालमै पहिलोपटक युरोपेली प्रविधिमा आधारित खाद्य प्रशोधन उद्योग हो।

उद्योग  करिब पाँच बिगाहा जमिनमा फैलिएको छ ।  यसमा करिब दुई अर्ब लगानी भएको छ। उद्योगमा अहिले २ सय जनाले रोजगारी पाएका छा्।

उद्योगले नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बिआरसिजिएस) प्रमाणपत्र प्राप्त गरेको छ। यो खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानक हो।

हाल दैनिक ३० देखि ४० हजार किलो फ्रेन्च फ्राइज उत्पादन भइरहेको छ।

११ वर्ष भारतमा वैदेशिक रोजगारीमा बिताएर २०५८ मा स्वदेश फर्किएका पाैडेलले यसअघि बुटवलमा मासु पसल र पछि मासु प्रशोधन उद्योग सञ्चालन गरेका थिए।

काठमाडौंमा उत्पादन सार्वजनिक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो उद्योगले मध्यमवर्गीय उद्यमीको सम्भावना देखाएको र निष्ठापूर्वक काम गरे ठूलो उपलब्धि सम्भव छ भन्ने प्रमाणित गरेकाे बताए ।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले किसान र उद्यमीलाई प्रोत्साहन गर्नु पर्ने बताए ।

कृषि सचिव गोविन्द शर्माले यो उद्योग सञ्चालन सरकारका लागि खुसीको कुरा भएको बताए।

उद्योगी पौडेलका अनुसार नेपालमा काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगञ्जमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० भन्दा बढी सप्लायर, ४०० रेस्टुरेन्ट र १७१ आधुनिक मार्टमार्फत बजार विस्तार गरिएको छ।

उद्योगले १९ जिल्लाका किसानसँग जोडिएर २ हजार मेट्रिक टन आलु खरिद गर्ने गरेकाे छ । यसले किसानलाई बीउ, प्राविधिक सल्लाह र खेतमै आलु खरिदको सुविधा दिन्छ । काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली, नवलपुर, तनहुँ, कास्की, लमजुङ, नुवाकोट, पाल्पा, बर्दिया, दाङलगायत १९ जिल्लामा आलु उत्पादनको परीक्षण सफल भएको छ।

उद्योगले नेपालमै टिस्स्यु कल्चर प्रविधिबाट बीउ उत्पादन गर्छ।

उद्योगले सहकारीमार्फत नवलपुर र कैलालीमा बीउ र आलु भण्डारण केन्द्र स्थापना गरेको छ। बीउ उत्पादक किसानका लागि क्लाइमेट स्मार्ट बीमा कार्यक्रम ल्याइएको छ। उद्योगले बीउ उत्पादन, शीत भण्डारण, निर्यात प्रवर्द्धन, यान्त्रीकरण र बजार विस्तारमा सरकारी सहयोगको अपेक्षा गरेको छ।

आगामी चार वर्षमा नेपालले प्रशोधित आलु आयात ८०–१०० प्रतिशत घटाउन सक्ने र वार्षिक १२ अर्ब रुपैयाँ विदेशी मुद्रा बचत हुने उद्योगकाे अपेक्षा छ।

उत्पादनलाई छिट्टै विश्व बजारमा बिस्तार गर्ने याेजना रहेकाे उद्योगी पाैडेलले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend