• Saturday 25th July 2026

लुम्बिनीका नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको  सपथ

लुम्बिनीका नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको  सपथ

लोसपाका संसदीय दलका नेता पाण्डे यो सहित ४ पटक मन्त्री बन्नुभएको छ


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ ।
उहाले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष सोमबार बुटवलमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो । सरकार गठनको एकवर्षपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्दै पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गर्नुभएको थियो । लोसपाका संसदीय दलका नेता पाण्डे यो सहित ४ पटक मन्त्री बन्नुभएको छ । पाण्डे दुई पटक भौतिक पूर्वाधार र एक पटक आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको छ । नवनियुक्त मन्त्री पाण्डेले अब युवा तथा खेलकुदमन्त्रीका रुपमा युवा रोजगारी र खेलकुदको विकासमा उल्लेख्य काम गर्ने बताउनुभयो ।
पाण्डे रुपन्देही क्षेत्र नम्बर ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।सपथ ग्रहण कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरु सहभागी हुनुभएको थियो  । पटक–पटक मन्त्री भएका पाण्डेले कांग्रेस–एमाले गठबन्धनको अहिलेको सरकारले ल्याएको बजेट पारित गर्न सहयोग गर्नुभएको थियो । बजेट पारित गर्ने समयमा प्रमुख प्रतिपक्ष दलसहित विपक्षी दलहरुले प्रदेश सभा बैठक बहिष्कार गरेपछि सत्ता पक्षमै रहेको लोसपा एकाएक विपक्षीमा पुगेको थियो । त्यतिबेलै कांग्रेस एमालेले पाण्डेलाई मन्त्री बनाउने सहमति गरेर सरकारलाई दिएको समर्थन फिर्ता गराएर विपक्षमा बस्न लगाएका थिए । लुम्बिनी प्रदेश सभामा लोसपाका ३ जना सदस्य छन् । लोसपाबाट सरकारमा मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीसहित १२ मन्त्री पुगेका छन् । कांग्रेसले ५ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएका थिए । जसपाले आन्तरिक मामिला तथा कानुनमन्त्री पाएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend