• Saturday 25th July 2026

नेकपा एस रुपन्देही ३ मा मनोज रिजालको नेतृत्व

नेकपा एस रुपन्देही ३ मा मनोज रिजालको नेतृत्व


  • लुम्बिनी रिभ्यू

रुपन्देही । नेकपा एकीकृत समाजवादी क्षेत्र नं। ३ रुपन्देहीको प्रथम क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मनोज रिजालको अध्यक्षतामा २५ सदस्यीय क्षेत्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।

निर्वाचित कार्यसमितिमा विजय यादव उपाध्यक्ष, गङ्गाधर बस्याल सचिव, प्रेमबहादुर विक र शान्ति कुमारी चौधरी उप–सचिवमा चयन भएका छन् । पार्टी भित्रको आन्तरिक एकता र सहमतिको परिणामस्वरूप समितिको नेतृत्व निर्विरोध गठन भएको अधिवेशनमा सहभागी नेताहरूले बताएका छन्।

अधिवेशनलाई प्रमुख अतिथि पोलिटब्युरो सदस्य नन्द बन्जाडेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरे, लुम्बिनी प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, उपाध्यक्ष कमल भण्डारीलगायतका नेताहरूको विशेष उपस्थिति थियो।

नेताहरूले सम्बोधनका क्रममा अहिलेको राजनीतिक परिवेशमा नेकपा एकीकृत समाजवादीले आफ्नो जिम्मेवारी जनताप्रति थप प्रष्टसँग निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए । उनीहरूले “व्यक्तिले के पाए भन्ने भन्दा जनताले के पाए भन्ने प्रश्नलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ” भन्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई जनताको पक्षमा समर्पित रहन आह्वान गरेका थिए।

पोलिटब्युरो सदस्य बन्जाडेले समाजवादी पार्टीको मुख्य ध्येय नै समाजमा न्याय, समानता र जनताको हित सुनिश्चित गर्नु भएको बताए । उनले “पार्टी नेतृत्वले मार्गदर्शन गर्ने भए पनि वास्तविक काम त जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने कार्यकर्ताले गर्नुपर्छ” भन्दै नयाँ नेतृत्वलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गरे ।

त्यस्तै, लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले वर्तमान समयमा आम नागरिकको अपेक्षा पूरा गर्ने गरी योजनाबद्ध काम गर्नुपर्नेमा जोड दिइन् । उनले संगठनलाई सुदृढ बनाउँदै पार्टीको नीतिगत धारलाई जनतामाझ पुर्याउने जिम्मेवारी नयाँ समितिमा रहेको उल्लेख गरिन्।

प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँले पार्टीले समाजवादी आन्दोलनलाई संस्थागत गर्दै स्थायी राजनीतिक विकल्पका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको बताए । उनले रुपन्देही क्षेत्र नं। ३ बाट निर्वाचित नेतृत्वले उदाहरणीय काम गरेर सम्पूर्ण जिल्लामा सन्देश दिन सक्ने विश्वास व्यक्त गरे।

अधिवेशनमा उपस्थित अन्य नेताहरूले पनि पार्टी संगठनलाई जनमुखी, योजनामुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनीहरूले पार्टी सदस्यता विस्तार, संगठन सुदृढीकरण, जनताका समस्या सम्बोधन र आगामी निर्वाचनका तयारीलाई प्रमुख कार्यसूची बनाउनुपर्ने धारणा राखे।

अधिवेशनमा सहभागी कार्यकर्ताहरूले नयाँ नेतृत्वले सहमतिको संस्कृतिलाई निरन्तरता दिँदै संगठनलाई बलियो बनाउने विश्वास व्यक्त गरेका थिए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend