• Saturday 25th July 2026

कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर भन्छन् : म सभापति बन्ने हो

कांग्रेस सहमहामन्त्री किशोर सिंह राठौर भन्छन् : म सभापति बन्ने हो


  • लुम्बिनी रिभ्यू

बुटवल, – नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग ल्याउने अभिव्यक्ति दिँदै सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन्।

रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राठौरले मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न “सक्षम र योग्य नेतृत्व आफू मात्र हो” भन्दै दृढ घोषणा गरे।

सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहने विश्वास व्यक्त गर्दै उनले भने,“म प्रधानमन्त्री वा मन्त्री बन्ने रहरले होइन, कांग्रेसलाई बलियो बनाउन सभापति बन्न चाहन्छु। कमजोर कांग्रेसले लोकतन्त्र कमजोर बनाउँछ र नागरिकका अधिकार खोसिन्छन्।”

प्रतिनिधि सभा सदस्य समेत रहेका राठौरले पार्टी सभापति भएपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्ने र नेतृत्वमा नयाँ धार ल्याउने प्रतिवद्धता दोहोर्याए।

सत्ता समीकरणबारे प्रश्न उठाउँदै उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने चेतावनी दिए। एमालेको प्रतिबद्धताप्रति आंशिक अविश्वास प्रकट गर्दै उनले भने, “इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं बलियो भएर अगाडि बढ्नुपर्छ।”

राजनीतिक वृत्तमा उनको यस्तो अभिव्यक्ति कांग्रेसभित्रै नेतृत्व प्रतिस्पर्धाको आगो चर्किँदै गएको संकेतका रूपमा लिइएको छ। राठौरले खुलेआम सभापति बन्ने आकांक्षा प्रकटसँगै महाधिवेशन असाधारण प्रतिस्पर्धी हुने निश्चित भएको विश्लेषण गर्न थालिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend