काठमाडौं । सुन प्रकरणमा मुछिएका पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन् ।
उनी साेही मुद्दामा पहिल्यै पक्राउ परी हाजिर जमानीमा छुटेका थिए । १८ महिनापछि फेरि पक्राउ परे ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का प्रमुख एआईजी डा.मनोजकुमार केसीका अनुसार २०८० चैत ९ मा हाजिर जमानीमा छुटेका उनी त्यसरी छुट्न हुने व्यक्ति नभएका कारण पुनः पक्राउ परेका हुन् ।
उनले भने ‘उक्त मुद्दामाथि पुनः अनुसन्धान गर्दा उहाँ त्यसरी छुट्नुपर्ने व्यक्ति नभएको देखियो, हामी भोलि नै उहाँलाई प्रतिवादी बनाएर अदालतमा पेश गर्दैछौँ ।’
उनी अहिले पक्राउ परेकै कसुरमा तत्काल अन्य कोही प्रतिवादीलाई पक्राउ गर्न बाँकी नभएको उनले बताए । तर, अरु घटना र तिनको अनुसन्धानका क्रममा कतै त्रुटी भएको भए जो पनि पक्राउ पर्नसक्ने डा.केसीले बताए ।
उनले भने ‘अरु अरु अनुसन्धानका क्रममा अन्य व्यक्ति पक्राउ पर्नसक्ने कुरा त हुन्छ, तर फौजदारी कसुरमा को व्यक्ति कुन पेशा र पृष्ठभूमिको छ भनेर हेरिँदैन, मुद्दाको स्थितिका आधारमा व्यवहार हुन्छ ।’

लुम्बिनी रिभ्यू