• Saturday 25th July 2026

सम्पादकहरुसँग ओलीकाे बाेलीः मेरो विरुद्धमा कोही नउठ्ला…

सम्पादकहरुसँग ओलीकाे बाेलीः मेरो विरुद्धमा कोही नउठ्ला…


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव जित्नेहरु नेतृत्वमा आउँने, नजित्नेहरु बाहिरिने बताएका छन् ।

सम्पादकहरुसँगको संवाद कार्यक्रममा बिहीबार बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको ११ औं महाधिवेशनले नयाँ नेतृत्वसहित कार्य समिति सर्वसम्मत चयन गर्ने प्रयासमा आफूहरु रहेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “सम्भवतः मेरो विरुद्धमा कोही नउठ्ला । सर्वसम्मत अध्यक्षमा मेरो नाममा सहमति बन्ला । कोही स्वस्थ प्रतिस्पर्धा गर्न आउँछ भने त्यसको स्वागत हुन्छ ।”

दुई कार्यकाल र उमेरहदको जिज्ञासामा अध्यक्ष ओलीले जवाफमा भन्नुभयो, “दुई कार्यकाल अमेरिकी राष्ट्रपतीय प्रणालीमा हुन्छ । निर्वाचित भएपछि पाँच वर्ष काम गर्न दिइन्छ, कुनै बाधा हस्तक्षेप गरिदैन । हाम्रो यहाँ दुई कार्यकालको विषय स्थापित विषय होइन, कांग्रेस सभापति ५ पटक देशको प्रधानमन्त्री बन्नुभयो, तर उहाँले ५ वर्षे कार्यकाल सम्भवतः पूरा गर्नु भएको छैन होला ।”

अध्यक्ष ओलीले हरेक महाधिवेशनमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसपाली पनि पुस्तान्तरण र हस्तान्तरण हुन्छ । चुनाव जित्नेहरु नेतृत्वमा आउँछन्, नजित्नेहरु बाहिरिन्छन् । मेरो हकमा भने निरन्तरता मात्र हुन्छ ।”

आफूले देश र जनताको पक्षमा काम गर्दा अरुको टाउको दुःखेको उहाँले दावी गर्नुभयो । देश र जनताको पक्षमा काम गर्नु के अपराध हो ? मैले देशको समृद्धिका लागि काम गरेर के गल्ती गरें ? मैले काम गर्दा अरुको टाउको दुःख्छ भने मैले के गर्न सक्छु ? अरुको टाउको दुख्छ भन्दैमा मैले देश र जनताको पक्षमा काम गर्न छाड्नु हुँदैन । सकुन्जेल गर्छु ।”

उहाँले महाधिवेशनमा कसैमाथि करकाप र भेदभाव नगरिने बताउनुभयो । स्वस्थ प्रतिस्पर्धा गर्न चाहनेलाई प्रतिस्पर्धा गर्न दिइने तर अस्वस्थ ढंगले काम गर्न नदिइने बताउनुभयो । करकाप कसैमाथि हुँदैन । भेदभाव विनाको स्वस्थ प्रतिस्पर्धा हुन्छ, उहाँले भन्नुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend