काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारी तथा निजी क्षेत्रमा गरी कुल ८४ अर्ब ४५ करोड रुपैयाँ बराबर क्षति भएको तथ्यांक सार्वजनिक भएको छ ।
आजको मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले यस्तो विवरण प्रस्तुत गरेका हुन् । सरकारले आयोगको संयोजकत्वमा एक समिति बनाएर अध्ययन र पुनर्निर्माण योजनामा काम गरेको थियो । समितिले ७५ दिनमा आफ्नो प्रतिवेदन बुझाएको हो ।

राष्ट्रिय योजना आयोगले बिहीबारको मन्त्रिपरिषद् बैठकमा जेनजी आन्दोलनको क्षति विवरण प्रस्तुत गरेको हाे।
विवरण अनुसार सरकारी/सार्वजनिक क्षेत्रमा ४४ अर्ब ९३ करोड ७३ लाख बराबर क्षति भएको देखिएको छ ।
त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख बराबर क्षति भएको सरकारको अध्ययनमा देखिएको हो । बाँकी सामुदायिक क्षेत्रको क्षति भएको योजना आयोगको अध्ययनमा छ ।
सरकारी क्षतिमा तीन तहमध्ये संघीय सरकारको ६८ प्रतिशत छ भने प्रदेश र स्थानीय तहको क्रमशः १० र २२ प्रतिशत छ । समितिले पुनर्निर्माण कार्ययोजना पनि पेस गरेको छ । पुनर्निर्माण गर्न ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको थियो । यस्तो क्षति हुने जिल्ला ५४ र स्थानीय तह २६२ रहेका छन् ।
भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछि २० जना गरी कुल ७७ जनाको ज्यान गएको थियाे ।
२ हजार ४२९ जना घाइते भएकामा १७ जना १३ वर्षमुनिका छन् । १३ देखि २८ वर्षका १४३३ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

लुम्बिनी रिभ्यू