काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग रास्वपा सभापति रवि लामिछानेको पहिलो भेट भएपछि नेपाली राजनीतिमा थप तरंग थपिएकाे छ ।
लामिछानेले निर्वाचनको तयारी ढुक्कसँग गर्न र जेनजीसँगको सम्झौता कार्यान्वयनमा ढृढ रहन प्रधानमन्त्री कार्कीलाई आग्रह गरे। उनले अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा गरेको अन्याय नदोहोर्याउन सरकारलाई पार्टीको तर्फबाट ध्यानाकर्षण गराए।
बैठकमा सभापति लामिछानेले सरकार र जेनजी समूहबीच भएको सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गर्दै सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने बताएका थिए । उनले फागुन २१ गते हुने प्रतिनिध सभा निर्वाचनको तयारी तीव्र बनाउन पनि आग्रह गरे । उनले निर्वाचनका लागि राज्यले सम्पूर्ण ध्यान केन्द्रित गर्न, अध्यादेशमार्फत आवश्यक कानुन ल्याउन र निर्वाचन आयोगलाई आवश्यक पर्ने सरसामग्रीको तत्काल व्यवस्था गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनमा केन्द्रित रहेको र तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरिन् । उनले निर्वाचन बिथोल्न वा सार्न खोज्नेहरू सक्रिय हुनसक्ने भन्दै दलहरूले पनि सबै ध्यान निर्वाचनमै केन्द्रित गर्नुपर्ने बताइन् ।
बालुवाटारमा आइतबार राति ८ बजेदेखि भएको वार्ता १० बजे सकिएको थियो । सभापति लामिछाने प्रधानमन्त्री कार्कीलाई भेट्न उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेसँगै बालुवाटार पुगेका थिए ।
भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय अर्याल र वाग्लेसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल, सोवितालगायत भेटमा सहभागी भएका थिए ।
सहकारी ठगी प्रकरणमा शुक्रबार कारागारबाट रिहा भएका उनी आज साँझ प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगेका थिए ।

लुम्बिनी रिभ्यू