राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेकी ज्ञानु पौडयालले सुशासन र समृद्ध राष्ट्र निर्माणलाई आफ्नो मुख्य लक्ष्यका रूपमा अघि सारेकी छन्।
दर्जनौँ देशहरूको भ्रमणमार्फत विकासका मोडेल र कार्यपद्धति नजिकबाट अवलोकन गरेकी पौडयाल ती अनुभवलाई नेपालको नीति निर्माणमा प्रयोग गर्ने तयारीमा छन्। जापान, स्विजरल्याण्ड, अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सलगायत मुलुकहरूमा पुगेकी पौडयालले त्यहाँको सुशासन, सेवा प्रवाह र विकास व्यवस्थापनबाट सिकेका अभ्यास नेपालमा लागू गर्न सकिने बताइन्। चुनावी एजेन्डाबारे बोल्दै पौडयालले सदनमा पुगेर जनताको विश्वासिलो आवाज बन्ने प्रतिबद्धता व्यक्त गरिन्। उनका प्रमुख प्राथमिकतामा महिला हिंसा तथा यौन हिंसाविरुद्ध शून्य सहनशीलता, सहकारी क्षेत्रको सही र पारदर्शी परिचालन, तथा युवालाई स्वदेशमै उत्पादन र रोजगारीसँग जोड्ने नीतिगत पहल रहेका छन्।
सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय पौडयाल राष्ट्रपतिबाट दुई पटक ‘सुप्रबल जनसेवा’ पदकबाट सम्मानित भइसकेकी छन्। साथै उनले दक्षिण एसियाली स्तरको लैंगिक समानता पुरस्कार पनि प्राप्त गरेकी छन्। “मैले आर्जन गरेको यो सामाजिक पुँजीलाई अब राष्ट्र निर्माणमा लगाउने बेला आएको छ,” उनको भनाइ छ। अन्त्यमा मतदातालाई सम्बोधन गर्दै पौडयालले दशकौँसम्म समाज सेवामा काम गरेको अनुभव स्मरण गराउँदै नीति निर्माणको तहमा पुगेर काम गर्ने अवसर दिन आग्रह गरिन्। खस आर्य महिलाबाट रास्वपाको समानुपातिक आकांक्षी उम्मेदवार बनेकी पौड्याल क्षमता, योग्यता र अनुभवलाई विश्वास गरेर आफुलाइ मतदान गर्न मतदाता अपिल गरेकि छ्न। पौडेल रास्वपाको केन्द्रिय महिला विभाग सदस्य समेत हुन।

लुम्बिनी रिभ्यू