रूपन्देहीमा एमाले नेताहरू किन छाडिरहेका छन् पार्टी ?
बुटवल । नेकपा एमालेका नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य वासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने तयारीमा रहेकाे जनाइएकाे छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै घिमिरेले एमाले परित्याग गरेको जनाएका हुन् ।
घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको भन्दै आजको दिन देखि आफु संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको जनाएका छन्।
रूपन्देहीकाे तिलाेत्तमाका पूर्व प्रमुख घिमिरे एमालेकाे एघाराैं महाधिवेशनका लागि बुटवलबाट लाेकप्रीय मतका साथ प्रतिनिधि चयन भएका थिए । तर महाधिवेशनमा संस्थापन समुहकाे सूचिमा नपरेका उनी केन्द्रीय सदस्यमा परािजत भएका थिए ।
एमाले छाड्ने उनी रूपन्देहीका एक्ला पूर्व नगर प्रमुख हाेइनन । यसअघि सैनामैनाका पूर्व प्रमुख चित्र बहादुर केसीले पनि एमाले परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए ।
घिमिरेले लेखेका छन्:
अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धिका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो।
देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो ।
देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।
पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।
आजसम्म यहाँ आईपुग्दा अवसर र जिम्मेवारी दिनुहुने सवै प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउने अभियानमा ईमान र निष्ठाका साथ सदैव यहाँहरु सवैसंग संगसंगै रहने छु ।
जय देश !!!

लुम्बिनी रिभ्यू