शितगंगा, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारलाई स्थानीय तहबाट संस्थागत र दिगो बनाउने उद्देश्यसहित पीएनसी होम भिजिट कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रम शितगंगा नगरपालिकाको आयोजनामा ठाडामा सम्पन्न भएको छ। नेपाल सरकारको सशर्त कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको यस कार्यक्रमको उपलब्धि, प्रभाव, कार्यान्वयन अवस्था, चुनौती र आगामी रणनीतिबारे विहिबार समिक्षा गरिएको हो।
कार्यक्रमको औचित्य, उद्देश्यबारे जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख दामोदर ढकालले शितगंगा नगरपालिकामा पीएनसी होम भिजिट कार्यक्रमले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य जोखिम समयमै पहिचान गर्न उल्लेखनीय योगदान पुर्याएको बताउनुभयो। उहाँका अनुसार सुत्केरीपछिका पहिलो केही दिन मातृ तथा शिशु दुवैका लागि अत्यन्त संवेदनशील हुने भएकाले घरमै पुगेर सेवा दिनु सार्वजनिक स्वास्थ्यको दृष्टिले अत्यावश्यक रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै नगर प्रमुख छविलाल पौडेलले पीएनसी होम भिजिट कार्यक्रमलाई स्थानीय सरकारको “घरदैलो स्वास्थ्य सेवा” अवधारणाको व्यवहारिक उदाहरणका भएको बताउनुभयो । । उहाँले मातृ तथा नवजात शिशु मृत्यु दर न्यूनीकरण केवल स्वास्थ्य शाखाको जिम्मेवारी मात्र नभई समग्र नगरपालिकाको साझा दायित्व भएको उल्लेख गर्नुभयो। नगर प्रमुख पौडेलले स्वास्थ्य सेवामा लगानी गर्नु दीर्घकालीन सामाजिक र आर्थिक विकासको आधार भएको भन्दै, कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक बजेट, जनशक्ति र व्यवस्थापकीय सहयोग निरन्तर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त पनि गर्नुभयो।
कार्यक्रमको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले पीएनसी होम भिजिटलाई नियमित कार्यक्रमभन्दा माथि उठाएर परिणाममुखी सार्वजनिक सेवाका रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नीति, योजना, बजेट र कार्यान्वयनबीचको अन्तर कम नगरेसम्म अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने धारणा राख्नुभयो। साथै, तथ्यमा आधारित योजना निर्माण, नियमित अनुगमन, गुणस्तरीय अभिलेख व्यवस्थापन र स्वास्थ्यकर्मी तथा फोकल व्यक्तिहरूको क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा शितगंगा नगरपालिका अन्तर्गत कार्यरत पीएनसी फोकल व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूले फिल्डस्तरमा घर भ्रमण गर्दा देखिने व्यावहारिक चुनौती, सामाजिक व्यवहार, भौगोलिक कठिनाइ, जनचेतनाको अवस्था र समन्वयसम्बन्धी अनुभवहरू साझा गरेका थिए। साथै, जोखिम पहिचान, समयमै सन्दर्भ सेवा र परिवारलाई लक्षित परामर्शले सकारात्मक परिणाम दिएको अनुभव पनि प्रस्तुत गरिएको थियो।
समीक्षा कार्यक्रममा पीएनसी होम भिजिटलाई अझ प्रभावकारी बनाउन डिजिटल अभिलेख प्रणाली, नियमित सुपरिवेक्षण, समुदायस्तरमा सचेतना अभिवृद्धि र अन्तर–शाखागत समन्वय सुदृढ गर्नुपर्ने सुझावहरू आएका थिए। यसले कार्यक्रमको पारदर्शिता, उत्तरदायित्व र प्रभाव मापनमा सहयोग पुग्ने सहभागीहरूको निष्कर्ष थियो।
वार्षिक समीक्षा कार्यक्रमले पीएनसी होम भिजिटलाई शितगंगा नगरपालिकामा अझ व्यवस्थित, गुणस्तरीय र नागरिक–केन्द्रित बनाउने दिशामा महत्वपूर्ण आधार तयार गरेको सहभागीहरूको धारणा रहेको छ। स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा गरिने यस्ता समीक्षा र सुधारका प्रयासले दीर्घकालमा स्वस्थ आमा, सुरक्षित शिशु र समृद्ध समाज निर्माणमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ।

लुम्बिनी रिभ्यू