• Saturday 25th July 2026

निर्वाचनको तयारी तीब्र, सकियाे ९० प्रतिशत काम

निर्वाचनको तयारी तीब्र, सकियाे ९० प्रतिशत काम


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार अघि बढिरहेको बताउनुभएको छ ।  कार्यतालिका अनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको बताउँदै कार्यवाहक प्रमुख भट्टराईले तयारीका हिसाबले ९० प्रतिशत काम सकिएको बताउनुभयो ।

निर्वाचन आयोगमा चुनावको तयारी सम्बन्धमा गृहमन्त्री ओमप्रकाश अर्यालसँगको शनिबार भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारीलाई एकसाथ अघि बढाएको बताउनुभयो ।

“आयोगबाट स्वीकृत कार्यतालिका अनुसार निर्वाचनको काम नियमित र तालिका अनुसार अघि बढिरहेको छ । निर्वाचन कार्यालयहरू स्थापना भइसकेका छन् । अब निर्वाचन तयारीका हिसाबले हामी ८०–९० प्रतिशतसम्म पुगेका छौँ ।” उहाँले भन्नुभयो ।

उहाँले  आचारसंहिता कार्यान्वयनलाई आयोगले सूक्ष्म रूपमा अनुगमन गर्ने र विगतका अनुभवका समेत आधारमा कार्यान्वयन गर्ने पनि बताउनुभयो । छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षा प्रत्याभूतिमा सरकारले कुनै कमी हुन नदिने बताउनुभयो । मन्त्री अर्यालले मन्त्रालय र आयोगबिच समन्वयमा हुनुपर्ने कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाउनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रालय र आयोगबिच दोहोरो समन्वय हुनुपर्ने विषय पहिचान गरी सहकार्य हुन्छ । सुरक्षा व्यवस्थामा सरकारका तर्फबाट पर्याप्त रूपमा तयारी छ । निर्वाचन तयारी, मतदान प्रक्रिया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारले गर्छ ।”

आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले हालसम्म गरेका मुख्य कामको जानकारी दिनुभएको थियो । सचिव राउतले समानुपातिक निर्वाचनको काम तालिका अनुसार अघि बढिरहेको र प्रत्यक्षतर्फको काममा आयोग अघि बढेको बताउनुभयो । उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकिएको जानकारी दिँदै सम्बन्धित कार्यालयमा पठाउने चरणमा रहेको बताउनुभयो ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend