अमृता अनमोल
बुटवल, पछिल्लो समय कानुन विषय पढ्ने तथा अधिवक्ता प्रमाणपत्र लिने महिलाको संख्या बढ्दै छ । महिला अधिवक्ताको संख्या बढ्दै जाँदा महिलासम्बन्धी मुद्दामा सहानुभूति राख्ने समूह पनि बढ्दै जानेछ । यसले पीडित महिलाको न्याय प्राप्तिको सम्भावना पनि बढ्छ । शिक्षित र सफल महिलाबाट प्रत्यक्ष–अप्रत्यक्ष रूपमा व्यक्ति, परिवार, समाज र राष्ट्र पनि लाभान्वित हुनेछ । यही उद्धेश्यका साथ लुम्बिनिमा वकालत गर्ने महिला कानुन ब्यवसायीहरुको क्षमता विकासका लागि रुपन्देहीमा कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले अधिवक्ता महिलाको नेतृत्व र पेशागत क्षमता बढाउन कार्यक्रम गरेको बताउनुभयो । ‘आगामी दिनमा योजना बनाएर काम गर्नेछौं ।’ उहाँले भन्नुभयो ।

नेपाल बार एशोसिएसन महिला समितिको संमन्वयमा सामाजीक विकास मन्त्रालयले लुम्बिनिमा वकालत गर्ने महिला कानुन ब्यवसायीहरुको क्षमता विकास कार्यक्रम गरेको हो । कार्यक्रममा उच्च अदालत बुटवलका न्यायधिश निशा वानिया र अधिवक्ता साइरस शर्माले सहजीकरण गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयका वरीष्ठ महिला विकास अधिकृत सम्झना सुवेदीले कानुन व्यवसायी महिलालाई स्थापित गर्न पहल थालेको बताउनुभयो ।

वकालत गर्ने महिला कानुन ब्यवसायीहरुको संख्या बढेपनि चुनौति भने कम भएका छैनन् । नेपाल बार एशोशिएसनका केन्द्रीय सदस्य इन्दिरा आचार्य महिला अधिवक्तालाई सुरुमा विश्वाश नगर्ने र मुद्धा नदिने समस्याले निरुत्साहित गरीरहने बताउनुभयो । यसकालागि सरोकारवालाको सहयोग अनिवार्य रहेको उहाको भनाइ छ ।

कानुनी क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाले बढी मिहिनेत गर्नुपर्ने र उपलब्धि कम पाउने अवस्था छ । कानुन व्यवसायमा आबद्ध महिलालाई टिकाउन र प्रोत्साहित गर्न व्यक्ति, परिवार, समाज र राज्यले प्राथमिकतामा राख्नुपर्ने कानुन महिला व्यवसायीहरुले निश्कर्ष निकाले ।

लुम्बिनी रिभ्यू