उषाकिरण पन्थ
रूपन्देही । नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डे (शुभाष) सँग परियार सेवा समाज, लुम्बिनी प्रदेशको आयोजनामा भेटघाट तथा छलफल सम्पन्न भएको छ । सोमबार बुटवलमा आयोजित छलफलमा क्षेत्र नम्बर २ का उम्मेदवार विश्वदीप पाण्डेले दलित समुदायका हक–अधिकार सुनिश्चित गर्न ठोस नीति आवश्यक रहेको बताए ।
उम्मेदवार पाण्डेले हक अधिकारको रक्षाको लागि एकताबद्ध हुन जरुरी रहेको बताए । उनले दलितको समस्या समाधान गर्न आफूले दलित अगुवालाई साथमा लिएर स्थानीय निकायदेखि प्रधानमन्त्रीको टेबुलसम्म पुगेर आवाजलाई बुलन्द बनाउने प्रतिबद्धता जनाए । ‘मैले भोट मात्र होइन, तपाईंहरूको मन समेत माग्न आएको हुँ,’ पाण्डेले भने । दलित समुदायका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणका क्षेत्रमा राज्यको ध्यानाकर्षण गराउने कुरामा आफूले सक्ने र हुने काम कमी हुन नदिने पाण्डेको भनाइ थियो । यसका लागि ठोस तथा व्यवहारिक नीति निर्माणका लागि आफूले सहजिकरण गर्ने पाण्डेले बताए ।

कार्यक्रममा समुदायका अगुवाहरूले उम्मेदवार पाण्डेलाई राज्यको वर्तमान नीतिले दलित समुदायको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका थिए । समुदायका लागि विशेष सहयोग कार्यक्रम तथा सिलाइ व्यवसाय सञ्चालनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गरिनुपर्ने उनीहरूको भनाइ थियो । साथै, सिटिइभिटि अन्तर्गत सीपमूलक तालिम तथा शिक्षामा समुदायको सुनिश्चित पहुँचसहित कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्नेमा अगुवाहरूले जोड दिए । आर्थिक सशक्तीकरणका लागि १ करोड रुपैयाँसम्मको लगानी गर्न पाउने नीति, कर छुट व्यवस्था तथा बैंकबाट सहज कर्जा प्रवाह हुनुपर्ने सहभागीहरूको माग थियो । त्यसैगरी, आपतकालीन सेवाका लागि एम्बुलेन्स व्यवस्था र दीर्घकालीन समाधानका रूपमा टेक्निकल कलेज स्थापना अपरिहार्य भएको वक्ताहरूले बताए ।
अभियन्ताहरूले “दलित” शब्दको सीमाभन्दा माथि उठेर सम्मान, समानता र अवसरको अधिकार सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्। वक्ताहरूले जनयुद्धको बलिदानका कारण आज दलित समुदायले अधिकार प्राप्त गरेको सबैले स्मरण गर्नुपर्नेमा जोड दिए । निर्मल सुनमको अध्यक्षतामा भएको कार्यक्रममा ने.का.पा.का युवा नेता सुजित बिक, राजु बराह, प्रकाश परियार, महेन्द्र भुसाल , नरेन्द्र दर्जी, रोमकान्त बराह लगायत परियार समाजका अगुवाहरूको आतिथ्यता रहेको थियो ।

लुम्बिनी रिभ्यू