• Saturday 25th July 2026

सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श

सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श


  • लुम्बिनी रिभ्यू

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा मुख्य निर्वाचन अधिकृतस्थित स्थानीय सुरक्षा प्रमुखसँग निर्वाचनबारे परामर्श गर्नुभएको छ ।

शुक्रबार बिहान ताप्लेजुङ आउनुभएको प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा परामर्श गर्नभएको हो । ताप्लेजुङका मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विकास श्रेष्ठसहित जिल्लाको सुरक्षा प्रमुखसँग प्रधानमन्त्री कार्कीले निर्वाचनबारे परामर्श गर्नु भएकाे छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको ताप्लेजुङ जिल्ला अदालतमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै चुनावी वातावरणबारे जानकारी लिनुभएको छ । दक्षिणपूर्वमा भारतको सिक्किम र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको ताप्लेजुङमा रहेका अति संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन प्रम कार्कीले निर्देशन दिनुभयो ।

उहाँले संवेदनशीलसँगै सम्भावित हुलदङ्गा हुने मतदान स्थलका लागि सुरक्षा व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको छ । परामर्श कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जिल्लाको सुरक्षा स्थिति, मतदानस्थल र केन्द्रसहित निर्वाचन वातावरणबारे प्रधानमन्त्री कार्कीसमक्ष अवगत गराउनुभएको बुझिएको छ ।

कार्यक्रममा जिल्लास्थित दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घाका गुल्मपछि सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रकाश पाठकलगायत सहभागी हुनुभएको थियो ।

यता प्रधानमन्त्री कार्कीले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनसमेत गर्नुभएको छ । बिहान ८ बजे ताप्लेजुङ आइपुग्नुभएका प्रधानमन्त्री कार्कीले सुरुमा पाथीभरा दर्शन गर्नुभएको र त्यसपछि सदरमकाम फुङ्लिङमा मुख्य निर्वाचन अधिकृतसहित सुरक्षा निकायका प्रमुखसँग परामर्श तथा छलफल गर्नुभएको हो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend