काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो ।
मोहनप्रसादको पार्थिव शरीरमा अध्यक्ष ओलीले दागबत्ती दिनुभयो ।
दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, राष्ट्रपति रामचन्द्र पौडेलका छोरी अवज्ञा पौडेल पशुपति पुग्नु भएको थियो ।
यसैगरी, एमालेका उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र गोकर्णराज विष्ट, महासचिव शङ्कर पोखरेल, पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, नेकपा (माले) का महासचिव सिपी मैनाली, नेकपा (संयुक्त) का नेता घनश्याम भुसाल, एमालेका विभिन्न नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
शुक्रबार बिहान भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा मोहनप्रसाद ओलीको निधन भएको हो । उहाँको पार्थिव शरीरमा आफन्त, नातेदार तथा पार्टी नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
मोहनप्रसाद ओली गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आउनुभएको थियो । गएराति स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको एमाले सचिवालयले जनाएको छ । दिवङ्गत ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ ।

लुम्बिनी रिभ्यू