गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थललाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
धुर्कोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री माननीय दिनेश पन्थीले औपचारिक घोषणा गर्नुभएको हो। जिल्लाका ९३ वडामध्ये धुर्कोट–६ रजस्थल बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने तेस्रो वडा बनेको छ। ऐतिहासिक उपलब्धि हासिल गरेको भन्दै गाउँपालिकाले उक्त वडालाई ८० हजार नगदसहित कदर पत्र प्रदान गरेको छ। साथै कार्यक्रममा विभिन्न संस्थाहरूलाई समेत सम्मान गरिएको थियो।
बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि वडाले अभिमुखीकरण कार्यक्रम, बालअधिकारसम्बन्धी तथ्याङ्क व्यवस्थापन, समुदायस्तरमा विभिन्न समिति गठन, बालमैत्री संरचना निर्माण तथा ८ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै विद्यालय र टोलस्तरमा बाल क्लब तथा सञ्जाल गठनजस्ता कार्यहरू सम्पन्न गरेको जनाएको छ। बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा बालबालिका सम्बन्धी ऐन २०७५ अनुसारका सूचकहरू पूरा गरेपछि रजस्थललाई बालमैत्री वडा घोषणा गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्थीले सामाजिक विकास नै दिगो विकासको आधार भएको उल्लेख गर्नुभयो। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले धुर्कोटमा बालमैत्री अभियानलाई तीव्रता दिइएको बताउँदै सबै वडालाई क्रमशः बालमैत्री घोषणा गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उपाध्यक्ष सीता गिरीले राज्यको लगानी अब मानव पूँजी विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाईले बालमैत्री अभियानलाई प्रभावकारी कार्यान्वयन गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। घोषणा कार्यक्रम अघि जनचेतनामूलक र्याली समेत निकालिएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको थियो। वडाध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सदस्य शालिकराम अर्यालले गर्नुभएको थियो। हालसम्म धुर्कोट गाउँपालिकामा वडा नं. १ नयाँगाउँ, वडा नं. २ पिपलधारा, वडा नं. ५ वस्तु र वडा नं. ६ रजस्थल गरी चारवटा वडा बालमैत्री स्थानीय शासनयुक्त घोषणा भइसकेका छन्।

लुम्बिनी रिभ्यू