काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ ।
दुवै सदनको अधिवेशन बिहीबार दिउँसो २ बजे एकसाथ सुरु हुने छ । प्रतिनिधि सभाको पहिलो बैठक निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ भने राष्ट्रिय सभाको पहिलो बैठक सङ्घीय संसद् सचिवालयस्थित राष्ट्रिय सभा कक्षमा बस्ने छ ।
बुधबार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठकसमेत राख्नुभएको छ । अधिवेशनको पहिलो बैठकको कार्यसूची तथा भावी कार्यदिशाबारे छलफलका लागि केसीले बैठक बोलाउनुभएको हो । बैठकले सभामुख चयनको कार्यतालिका पहिलो बैठकबाटै अघि बढाउने समझदारीसमेत गरेको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाइने छ । यस्तै, बैठकमा मन्त्रीपरिषद् गठन र कार्यभार तोकिएको जानकारीपत्र पनि पढेर सुनाइने छ । राष्ट्रपति कार्यालयबाट प्राप्त उक्त पत्र सभालाई जानकारी गराइने छ ।
प्रतिनिधि सभा नियमावली तर्जुमा नहुँदासम्म यसअघिकै नियमावलीबमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै सभामुख÷उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्ष मण्डलका सदस्यहरूको मनोनयनको कार्यसूचीसमेत रहेको छ ।
संसद् अधिवेशन बहाल नरहेका बेला सरकारबाट विभिन्न मितिमा सिफारिस भई राष्ट्रपतिले जारी गर्नुभएका अध्यादेश बैठकमा पेस हुने छन् । अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राख्ने कार्यक्रम पनि रहेको छ ।

लुम्बिनी रिभ्यू