• Friday 24th July 2026

जागृति बहुउद्देश्यीय सहकारीको रजत महोत्सव सम्पन्न

जागृति बहुउद्देश्यीय सहकारीको रजत महोत्सव सम्पन्न


  • लुम्बिनी रिभ्यू

बुटवल — “भविष्यको साथी, जागृती सहकारी” भन्ने मूल नाराका साथ कार्यरत जागृती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत महोत्सव विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमका साथ सम्पन्न गरेको छ।
बुटवल–९, रुपन्देहीस्थित सहकारीको कार्यक्षेत्र बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, ओमसतिया र शुद्धोधन पालिकासम्म फैलिएको छ। हाल संस्थामा ९८८ जना शेयर सदस्य आबद्ध रहेका छन्।
वार्षिकोत्सवको अवसरमा संस्थाले जेठ ९ र १० गते आफ्ना वालबचत सदस्यहरुको बौद्धिक विकास गर्ने उद्देश्यले बुद्धिचाल ९चेस० प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। साथै नन्दिनी गौशाला मा गौआहार वितरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। उक्त कार्यक्रम संस्थाका अध्यक्ष लाल प्रसाद बस्यालको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनाइएको छ।
स्थापना दिवसको दिन जेठ ११ गते बिहान ८ बजेदेखि सञ्चालन गरिएको रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देही का अध्यक्ष कृष्ण चौहान क्षेत्री प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा ३२ पिन्ट रगत संकलन गरी रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
त्यसैगरी बिहान ११ बजेदेखि आयोजित २५औँ वार्षिक उत्सव तथा रजत महोत्सव मूल समारोह संस्थाका अध्यक्ष लाल प्रसाद बस्यालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ का लेखा संयोजक भिम प्रसाद तुलाचन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष लाल प्रसाद बस्यालले संस्थाको उद्देश्य र हालसम्मको यात्राबारे प्रकाश पार्नुभएको थियो। सो अवसरमा ७० वर्षभन्दा माथिका शेयर सदस्य, संस्थापक शेयर सदस्य तथा विगत २५ वर्षको अवधिमा विभिन्न समिति तथा उपसमितिमा रहेर संस्थामा योगदान पुर्‍याउने पदाधिकारीहरुलाई सम्मान गरिएको थियो। साथै संस्थाबाट कर्जा लिएर सफल उद्यमी बनेका सदस्य तथा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरिएको थियो।


कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष रमेश प्रसाद पाण्डे, पूर्व अध्यक्ष गणेश प्रसाद भट्टराई, संस्थापक अध्यक्ष भोजराज पाण्डे, सल्लाहकार राम प्रसाद बञ्जाडे तथा नेत्र प्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कोषाध्यक्ष हेमन्त कंडेल, लेखा संयोजक, सञ्चालक सदस्य तथा अन्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक श्रीकृष्ण प्रसाद पाण्डे ले राख्नुभएको थियो भने सञ्चालन उपाध्यक्ष लोकनाथ पाण्डेले गर्नुभएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend