बुटवल, सदस्य सचेत भए मात्रै सहकारी बलियो बन्छ भन्ने लक्ष्यसहित सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वित्तीय साक्षरता एवं सदस्य अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । पछिल्ला वर्षहरूमा केही सहकारी संस्थामा देखिएका समस्या, वित्तीय अनुशासनसम्बन्धी चुनौती र सदस्यको घट्दो सहभागिताका बीच रुपन्देहीको तिलोत्तमामा रहेको सुमेरुले सदस्यहरूलाई सहकारीप्रति थप जिम्मेवार, सचेत र सक्रिय बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरेको हो। जहाँ सदस्यहरुलाई सहकारीको वर्तमान अवस्था, बदलिँदो कानुनी व्यवस्था तथा सदस्यको भूमिकाबारे जानकारी दिइएको थियो ।
सहकारीका नीति, नियम, सेवा, सदस्यको अधिकार तथा कर्तव्य, वित्तीय अनुशासन र संस्थाको भावी योजनाबारे समेत सिकाइयो । कार्यक्रमका अध्यक्ष नित्यानन्द ज्ञवालीले सहकारी संस्थाहरू अहिले विश्वास, पारदर्शिता र सुशासनको परीक्षाबाट गुज्रिरहेको उल्लेख गर्दै संस्थालाई सही दिशामा अघि बढाउन सदस्यहरूलाई समयानुकूल जानकारी दिन आवश्यक भएको बताउनुभयो।
शिक्षा तथा सामाजिक समिति संयोजक मधु ज्ञवालीले सहकारीका गतिविधि र निर्णय प्रक्रिया तथा आफ्नो अधिकार र जिम्मेवारी के हो भन्ने विषयमा सदस्यहरुलाई जानाकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार सहकारीका हरेक सदस्य संस्थाका वास्तविक मालिक भएकाले उनीहरूलाई संस्थाको नीति, कार्यक्रम र निर्णय प्रक्रियाबारे स्पष्ट जानकारी हुनु आवश्यक छ।
संस्थाका उपाध्यक्ष लोकनाथ ज्ञवालीले सहकारीलाई असल अभ्यास, पारदर्शिता र सदस्य केन्द्रित सेवामार्फत अघि बढाउन सदस्यहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। उहाँले सहकारी अभियानको मूल भावना ‘सदस्यद्वारा, सदस्यका लागि र सदस्यकै हितमा’ भन्ने भएकाले सदस्यलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहकारी विज्ञ डा। खगराज शर्मा ले प्रशिक्षण प्रशिक्षण दिदै सहकारीको वर्तमान अवस्था, वित्तीय व्यवस्थापन, सदस्यको दायित्व, सुशासन, जोखिम न्यूनीकरण तथा सहकारीका अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तबारे सिकाउनुभएको थियो । सहकारीप्रति बढ्दो चुनौतीको सामना गर्न सदस्यहरूलाई वित्तीय रूपमा सचेत र संस्थागत रूपमा जिम्मेवार बनाउनुपर्ने डा. शर्माको सुझाब थियो । सहकारीको सफलता व्यवस्थापन वा सञ्चालक समिताको मात्र जिम्मेवारी होइन। सदस्यहरू सक्रिय, सचेत र संस्थाप्रति उत्तरदायी भए मात्रै सहकारी दिगो र विश्वसनीय बन्न सक्छ । यसर्थ सदस्यहरुलाई बचत तथा ऋण नीति, संस्थाको भावी योजना, सेवा विस्तार, सदस्य सहभागिता तथा सहकारीको सुशासनसँग सम्बन्धित विषयमा साधारण सदस्यहरुलाई नियमित शिक्षा दिनु आवश्यक रहेको सरोकारवालाहरुको निश्कर्ष छ ।

लुम्बिनी रिभ्यू