काठमाडौ ,सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो।
उनीसहित ६ जना व्यक्ति र १० कम्पनीविरूद्ध मुद्दा दायर गरिएको हो।
पौडेलमाथि २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी
गरिएको छ। साथै विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैयाँ जफत गर्न समेत मागदाबी गरेको हो।
किन पक्राउ परे विष्णु पौडेल?
सम्पत्ति शुद्धीकरणकै कसुरमा पुर्पक्षका लागि थुनामा रहेका दिपक भट्टसँग कनेक्सन देखिएको भन्दै असार ८ गते पौडेललाई पक्राउ गरिएको हो। उनलाई राति नै सार्वजनिक भ्यानमा राखेर काठमाडौं ल्याइएको थियो।
भट्टको एकल नियन्त्रणमा रहेको हिमालयन एसेट्स म्यानेजमेन्ट प्रालिले श्रीराम टोबाको उद्योग प्रालिको २० प्रतिशत सेयर किनबेच गरेको विषयमा पौडेललाई जोडेको हो।
२० प्रतिशत सेयरको मूल्य किताबी मूल्य अनुसार करिब ३० करोड पर्ने तर बिक्री हुँदा ३ करोड ७५ लाखमा भएको भनेर सरकारी वकिलले पौडेललाई हिरासतमा राख्न म्याद माग गर्दा इजलासमा बताएका थिए।
यो सेयर दिलाउनका लागि पौडेलले अर्थमन्त्री हुँदा राजनीतिक प्रभावको दुरूपयोग गरेको र भट्टलाई २६ करोड २५ लाख भन्दा बढी रकम सम्पत्ति शुद्धीकरण गर्नका लागि आफै संलग्न भएको बहसको क्रममा सरकारी वकिलले उठाएका थिए।

लुम्बिनी रिभ्यू