अदिप्सन ज्ञवाली
बुटवल, सहकारीलाई बहुउपयोगमा लगाउने योजनासहित सिद्धार्थ बहुउद्धेश्यीय सहकारी सस्था बुटवलको २७ औं वार्षिक साधारणसभा शनिबार बुटवलमा सम्पन्न भएको छ ।
बुटवल–९ मा रहेको सहकारीले सहकारीलाई वचत र ऋणपरिचालन मात्र नभइ उद्यम विकास र सीप परिचालनमा उपयोगमा लगाउनेसहितका प्रस्ताब पारित गरेको छ । साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष तिलकराम आचार्यले सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, वित्तीय अनुशासन र सदस्यमुखी सेवालाई प्राथमिकता दिएको बताउनुभयो । संस्थाले आगामी दिनमा सदस्यलाई थप प्रभावकारी सेवा दिँदै सहकारीलाई अझ सबल र व्यवस्थित बनाउने लक्ष्य लिएको समेत उहाँको भनाइ थियो ।

सहकारीका सल्लाहकार तथा साधारण सभाका प्रमुख अतिथि मीत्रलाल गैरेले प्रविधिमैत्री र सदस्यमुखी सेवा विस्तारमा अब सहकारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । सहकारी विज्ञ तथा पूर्व सल्लाहकार डा. खगराज शर्माले सहकारीको दिगो विकासका लागि सदस्यको विश्वास र संस्थाको पारदर्शिता सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो ।

साधारण सभामा बोल्दै सस्थापक अध्यक्ष बाबुलाल नेपाल , पूर्व अध्यक्ष रामप्रसाद खनाल , अजीत खनाल लगायतले संस्थाको मुनाफाभन्दा सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । सेयर सदस्य खुमा अधिकारी र खीमानन्द भण्डारीले ऋण लगानी गर्दा सदस्यको क्षमता र आवश्यकता हेरेर जोखिम व्यवस्थापन गर्न आग्रह गर्नुभयो । साधारण सभाको संचालन सचिव विन्दु खनाल गौतम र स्वागत शिक्षा तथा सामाजिक उपसमिति संयोजक शिवबहादुर अधिकारीले गर्नुभएको थियो । एक हजार ७ सय ३८ सदस्य रहेको संस्थामा ४ करोड ५४ लाख ५९ हजार ८ सय रुपैयाँ सेयर पुजी छ । सहकारीले २८ करोड ५२ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

लुम्बिनी रिभ्यू