• Sunday 4th October 2026

घरेलु सामग्रीको प्रदर्शनीसँगै दुरदर्शी महिला कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा

घरेलु सामग्रीको प्रदर्शनीसँगै दुरदर्शी महिला कृषि सहकारीको ११औँ वार्षिक साधारण सभा


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल–११ मा रहेको दुरदर्शी महिला कृषि सहकारी संस्थाको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन संस्थाकी ज्येष्ठ सदस्य दिनकला पौडेलले गर्नुभएको हो।
साधारण सभामा प्रतिवेदन पेश गर्दै अध्यक्ष मिना कार्कीले सहकारी बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई सदस्यहरूको आर्थिक तथा उद्यमशील विकासमा समेत केन्द्रित रहेको बताउनुभयो। उहाँले सदस्यहरूले संस्थामा बचत गर्ने मात्र नभई आफूले जम्मा गरेको रकम कसरी परिचालन भइरहेको छ, संस्था कुन अवस्थामा छ र संस्थाका गतिविधि कसरी सञ्चालन भइरहेका छन् भन्ने विषयमा समेत जानकारी दिन सचेतना कार्यक्रमहरु ंसंचालन गरीरहेको बताउनुभयो । उहाँले आगामी दिनमा सहकारीलाई अझ बढी सदस्यतामूखी र उद्यमशीलतामूखी बनाउने प्रतिवद्धतासमेत जनाउनुभयो ।

कोषाध्यक्ष आरती बरालले आर्थिक प्रतिवेदन पेश गर्दै सहकारीको शेयर पूँजी १ करोड ९९लाख ६० हजार रुपैयाँ रहेको बताउनुभयो । उहाका अनुसार दैनिक , आवधिक तथा साधारण वचत गरी १४ करोड ३६ लाख २१ हजार वचत छ । कृषि पशुपालन र साना उद्यमलाई प्राथमिकता दिदै १५ करोड २८ लाख ५१ हजार ऋण लगानी भएको छ ।
साधारण सभामा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन सर्वसहमतले पारित भयो । साधारण सभाका अवसरमा सदस्यहरूले उत्पादन गरेका कृषि तथा घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो।बेसार, पिठो, मकै, दाल, जौलगायतका कृषि उपजसँगै सेलरोटी, अचार तथा विभिन्न स्थानीय परिकार बिक्रीका लागि राखिएका थिए। सदस्यहरूले उत्पादन गरेका साबुन, सरफ, हारपिकलगायतका घरायसी सामग्रीसमेत प्रदर्शनीमा राखिएको थियो। सदस्यहरूको सीप र उत्पादनलाई बजारसँग जोड्ने तथा उद्यमशीलताका लागि प्रोत्साहित गर्ने उद्देश्यले साधारण सभाका अवसरमा उत्पादनको प्रदर्शनी तथा बिक्रीको व्यवस्था गरिएको सहकारीका सचिव सुमित्रा बरालले बताउनुभयो ।

साधारण सभामा सहकारीका बाल सदस्यहरूले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए। हाल सहकारीमा १ हजार ६ सय ७७ शेयर सदस्य आबद्ध छन्। साधारण सभाका अवसरमा संस्थामा योगदान पुर्‍याउने तथा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट खेलाडी, ज्येष्ठ नागरिक, सदस्य वृद्धि, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको हो।

साधारण सभामा सदस्यहरूलाई सहकारीको संरचना, सदस्यको भूमिका, बचत तथा लगानीलगायतका विषयमा जानकारी गराउने उद्देश्यले सहकारी प्रशिक्षक किरण खत्रीले प्रशिक्षणसमेत दिनुभएको थियो। उहाँले सदस्यको सक्रिय सहभागिता र संस्थाप्रतिको निगरानीले सहकारीलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने बताउनुभयो। सहकारीले सदस्यहरूको बचत परिचालनसँगै उनीहरूको सीप, उत्पादन र उद्यमशीलतालाई समेत प्राथमिकता दिँदै आएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend