काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनको परिणामबाट विचलित नहुन पार्टीपंक्तिलाई आह्वान गरेका छन् । राजनीति यात्रामा उतारचढाव आइरहने उनको भनाइ छ।
उनले भनेका छन्– गतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा (एमाले) को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
उनले आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित रास्वपाका उम्मेदवार सुलभ खरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
उनको भनाइ जस्ताको तस्तै:
आदरणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरू,
हार्दिक नमस्कार
लोकतन्त्रको सुन्दरता नै जनताको अभिमत हो र म रुपन्देही क्षेत्र नं। २ का आदरणीय मतदाताहरूको फैसलालाई सविनय र सहर्ष स्वीकार गर्दछु ।
यस निर्वाचनमा विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । आशा छ, तपाईँले यस क्षेत्रका जनताका अपेक्षा अनुरूप उत्कृष्ट कार्य गर्नुहुनेछ र रुपन्देहीको विकास र समृद्धिको यात्रालाई अझै उचाइबाट अगाडी बढाउनु हुनेछ ।
निर्वाचनमा हार र जीत एउटा स्वाभाविक प्रक्रिया हो । मेरा लागि रुपन्देही र विशेष गरी क्षेत्र नं। २ को यो पवित्र माटो केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो मेरो जीवनको अभिन्न हिस्सा र मेरो कर्मभूमि हो । यो माटोको माया र यहाँका जनताको स्नेह मेरो लागि पद र शक्तिभन्दा धेरै माथि र अमूल्य छ ।
म पदमा रहूँ वा नरहूँ, रुपन्देहीको विकास समृद्धि र यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुख दुःखमा मेरो साथ र सक्रियता हिजो जस्तै निरन्तर रहनेछ । यस क्षेत्रको समृद्धिका लागि मैले देखेका सपनाहरू र अघि बढाएका योजनाहरूलाई सार्थक तुल्याउन म आफ्नो ठाउँबाट सदैव लागिरहने छु ।
यस निर्वाचनमा मलाई विश्वास गरेर मतदान गर्नुहुने र आ-आफ्नो विश्वासका आधारमा घण्टी, रूख, तारा वा अन्य चुनाव चिन्हमा मतदान गर्नुहुने मतदाता महानुभावहरू प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । चुनावी अभियानमा अहोरात्र खटिनुहुने नेकपा (एमाले)का सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दछु । निर्वाचन सम्पन्न गर्न योगदान गर्नुहुने राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका नेता कार्यकर्ता, सञ्चारकर्मी र सञ्चारमाध्यमहरू प्रति धन्यवाद ज्ञापन गर्दछु ।
पार्टीका सम्पूर्ण कमरेडहरूलाई मेरो एउटै आग्रह छ, निर्वाचनको यो परिणामबाट कत्ति पनि विचलित नहुनुहोस् । राजनीति एउटा लामो यात्रा हो, जहाँ उतारचढाव आइरहन्छन् । कस्तै परिस्थितिमा पनि हाम्रो निष्ठा र सङ्कल्प कमजोर हुनुहुँदैन। यसर्थ, अझ सशक्त रूपमा जनताको सेवामा समर्पित हुन हार्दिक अनुरोध गर्दछु ।
विगतमा हाम्रा तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाई रूपान्तरण गर्न र नेकपा ९एमाले० को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भइरहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद
विष्णुप्रसाद पौडेल

लुम्बिनी रिभ्यू