अमृता अनमोल
बुटवल, २० भदौ । मानव बेचबिखन तथा ओसारपसारका स्वरूप फेरिदा जोखिम घटाउन र पीडित सबैलाई उद्धार गर्न नसकिएको लुम्बिनीका सरोकारवालाहरुले बताएका छन् ।
पहिले वैदेशिक रोजगारी वा विवाहको प्रलोभनमा सीमित देखिने बेचबिखन अहिले सामाजिक सञ्जाल, अनलाइन गेम, डेटिङ एप, नक्कली रोजगारीका विज्ञापन र डिजिटल माध्यममार्फत हुदा समस्या सिर्जना गरेको उनीहरुले बताए । प्रविधिको सही प्रयोग र स्वतन्त्रता ः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता भन्ने मूल नारासहित मानव बेचबिखन तथा ओसारपसार विरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा सामाजिक विकास मन्त्रालयले शनिबार भैरहवामा आयोजित कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । बेचबिखन तथा ओसारपसारका बदलिँदा चुनौती, सूचना प्रविधिको दुरुपयोगबाट सिर्जित जोखिम, रोकथामका उपाय, उद्धार तथा पुनःस्थापनाका विषयमा तीन तहकै सरकार संवेदनशील भएर लाग्नुपर्ने सरोकारवालाहरुको सुझाब छ । यस्तै प्रविधिको सुरक्षित प्रयोगबारे जनचेतना, विद्यालय तहदेखि डिजिटल साक्षरता, सीमा सुरक्षा सुदृढीकरण, अन्तरनिकाय समन्वय, पीडितमैत्री न्याय प्रणाली तथा पुनःस्थापना सेवामा जोड दिनुपर्ने पनि भुक्तभोगीहरुले बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले मानव बेचबिखन रोकथामका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय, सञ्चारमाध्यम तथा नागरिक समाजबीच प्रभावकारी समन्वय गरीरहेको बताउनुभयो । उहाँले सूचना प्रविधिको दुरुपयोगका कारण मानव बेचबिखनका स्वरूप बदलिँदै गएको भन्दै यसको नियन्त्रणका लागि प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोग र जनचेतना समेत आवश्यक रहेको बताउनुभयो।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक पूर्व मन्त्री भगवती अधिकारीले बदलिँदो प्रविधिसँगै कानुन, अनुसन्धान प्रणाली र सुरक्षा निकायको क्षमता र महिला, बालबालिका एवं युवालाई लक्षित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले मानव बेचबिखन तथा ओसारपसारका बदलिँदा चुनौती, सूचना प्रविधिको दुरुपयोगबाट सिर्जित जोखिम, रोकथामका उपाय, उद्धार तथा पुनःस्थापनाका विषयमा थप परिमार्जन आवश्यक रहेको समेत औलाउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले मानव बेचबिखन नियन्त्रणका लागि सीमा सुरक्षा सुदृढीकरण, अन्तरनिकाय समन्वय, पीडितमैत्री न्याय प्रणाली तथा पुनःस्थापना सेवामा जोड दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्याल तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय तहले मानव बेचबिखन रोकथाम, सुरक्षित आप्रवासन, जनचेतना अभिवृद्धि र पीडितको संरक्षणका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो ।

सामाजिक विकास निर्देशक दिवाकर भण्डारीले लुम्बिनी प्रदेशमा शिक्षा र चेतना प्रवाहका माध्ययमबाट अवैध ओसारपसार र बेचबीखन नियन्त्रणको प्रयास गरीरहेको बताउनुभयो । कार्यक्रममा सामाजिक विकास मान्त्रालयका सामाजिक महाशाखा प्रमुख सम्झना सुवेदीले प्रदेशमा मानव बेचबिखन तथा ओसारपसारको आयाम र नियन्त्रणको आवश्यकताबारे बताउनुभयो । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो।

लुम्बिनी रिभ्यू