• Saturday 12th September 2026

जनउत्थान साकोसलाई अन्तर्राष्ट्रिय ‘एक्सेस सिल्भर’ ब्रान्ड

जनउत्थान साकोसलाई अन्तर्राष्ट्रिय ‘एक्सेस सिल्भर’ ब्रान्ड


  • लुम्बिनी रिभ्यू

उषा किरण पन्थ

बुटवल । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (जनउत्थान साकोस) ले मलेसियाको क्वालालम्पुरमा आयोजित ACCU Forum 2026 मा अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित ‘ACCESS Silver’ ब्रान्ड प्राप्त गरेको छ।

मलेसियामा आयोजित भव्य समारोहबीच जनउत्थान साकोसका अध्यक्ष गिरीप्रसाद पुन र प्रमुख कार्यकारी अधिकृत (सीईओ) रणबहादुर थापाले उक्त अन्तर्राष्ट्रिय सम्मान ग्रहण गरेका हुन्। संस्थाको व्यवस्थापन क्षमता, पारदर्शी कार्यशैली, वित्तीय अनुशासन तथा सुशासनलाई थप मजबुत बनाउँदै अघि बढिरहेको जनउत्थान साकोसले अन्तर्राष्ट्रियस्तरको यो मान्यता प्राप्त गरेको हो। संस्थाले ‘ACCESS Silver’ ब्रान्डलाई आफ्नो संस्थागत विकास र सहकारी क्षेत्रमा हासिल गरेको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

अन्तर्राष्ट्रियस्तरको ब्रान्ड प्राप्त भएसँगै संस्थाको संस्थागत क्षमता, व्यवस्थापन प्रणाली तथा विश्वसनीयता थप सुदृढ हुने विश्वास गरिएको छ। यस उपलब्धिले संस्थालाई आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह, प्रभावकारी व्यवस्थापन र वित्तीय सुशासन कायम गर्दै अघि बढ्न थप प्रेरणा मिलेको जनउत्थान साकोसले जनाएको छ।

संस्थाले यो उपलब्धि सम्पूर्ण सेयर सदस्य, सञ्चालक समिति, लेखा समिति तथा विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी, शुभचिन्तक र सरोकारवालाको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ। उपलब्धिका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सदस्य तथा सरोकारवालाप्रति संस्थाले आभार व्यक्त गरेको छ। संस्थाको निरन्तर प्रगति र सफलतामा सदस्य तथा सरोकारवालाले देखाएको विश्वास, सहयोग र योगदान महत्वपूर्ण रहेको जनउत्थान साकोसको भनाइ छ।

सहकारीले आगामी दिनमा पनि पारदर्शिता, सुशासन, वित्तीय अनुशासन र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै संस्थालाई अझ उच्च स्थानमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। क्वालालम्पुरमा सम्पन्न ACCU Forum 2026 मा प्राप्त ‘ACCESS Silver’ ब्रान्डलाई जनउत्थान साकोसले आफ्नो संस्थागत उत्कृष्टता र अन्तर्राष्ट्रिय पहिचानको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend