• Saturday 25th July 2026

लघुवित्तको ऋण तिर्नेबारे परिवारमा विवादपछि कुटपिट, एक जनाको मृत्यु

लघुवित्तको ऋण तिर्नेबारे परिवारमा विवादपछि कुटपिट, एक जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

 

बुटवल ।   लघुवित्तको ऋण कसले कसरी तिर्ने भन्ने विषयमा घर परिवारभित्र विवाद हुँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गैडहवा गाउँपालिका–१ पश्चिम बगिया बस्ने ३० वर्षीय महेश भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते भएका भरको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरतन पौडेलले बताए । उनको टाउकोमा ढुंगाले लागेको ठूलो चोट छ । उनकी पत्नी गीता भर घाइते छन् ।

प्रहरीका अनुसार भर परिवारले २ वर्षअघि सूर्यपुरामा रहेको एक लघुवित्तबाट २० हजार रुपैयाँ ऋण लिएको थियो । उक्त ऋणको साँवाब्याज गरी १ लाख रुपैयाँ पुगेको भन्दै रकम बुझाउन ताकेता गर्न कर्मचारी दिउँसो भर परिवारको घरमा गएका थिए ।

साँझ घरपरिवार जम्मा भएपछि रकम बुझाउनेबारे छलफल भएको थियो । मृतक भरले उक्त रकम आफ्ना भाइ उमेश भरलाई बुझाउन भनेका थिए । जो ८ वर्षदेखि वैदेशिक रोजगारीमा बसेर एक महिनाअघि फर्केका थिए । तर, उमेशले आफूले विदेशबाट पठाएको रकम बेलामा नबुझाउँदा यति धेरै भएको भन्दै उनले दाजुलाई गाली गर्न थालेका थिए । दाजुले नमानेपछि हात हालाहाल हँुदै कुटपिट सुरु भएको प्रहरीले बताएको छ । उमेशसँगै बाबुआमा र नन्दहरु पनि कुटपिटमा उत्रेको घाइते गीताको दाबी छ ।

प्रहरीले घटना अनुसन्धानका लागि भन्दै मृतकका बाबु फौदार, आमा चिनिया, भाइ उमेश र बहिनीहरु रश्कला एवं शश्कला भरलाई नियन्त्रणमा लिएको छ । मृतककी पत्नी गीताले बुधबार दिउँसो बाबु फौदार, आमा चिनिया, भाइ उमेशमाथि किटानी जाहेरी दिएकी छन् । घटनामाथि अनुसन्धान थालिएको डीएसपी पौडेलले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend