काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदमा नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल (गौतम) निर्वाचित हुनुभएको छ। शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा उपसभामुख पदका लागि भएको निर्वाचनमा भुसाल निर्वाचित हुनुभएको हो।
उपसभामुखका लागि भएको मतदानमा भुसाल १४८ मतसहित विजयी हुनुभएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपसभामुख पदका उम्मेदवार विद्या भट्टराईले ९३ मत पाउनुभएको छ। तटस्थ १ मत परेको छ । कुल २४२ सदस्यको उपस्थिति थियो । भुसाललाई सत्ता गठबन्धनको साथ थियो।
६२ वर्षीया नेत्री भुसाल दोस्रो प्रयासमा प्रतिनिधिसभाको उपसभामुख निर्वाचित हुनुभएको हो। यसअघि उहाँ तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका डा. शिवमाया तुम्बाहाङ्फेसँग पराजित हुनुभएको थियो। तुम्बाहाङ्फेले २०१ मत प्राप्त गर्नुहुँदा भुसालले ५८ मत प्राप्त गर्नुभएको थियो। २०७६ साल माघ ६ गते उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुभएपछि उक्त पद रिक्त थियो। तुम्बाहाङ्फेले राजीनामा दिनुभएको करिब साढे दुई वर्षपछि उपसभामुखको पदपूर्ति भएको हो।
भुसालसँग लामो समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गरेको अनुभव छ। वरिष्ठ अधिवक्तासमेत रहनुभएका भुसालले समाजशास्त्रमा एमफिल गर्नुभएको छ। भुसाल विद्यार्थी कालमै पञ्चायत व्यवस्था विरुद्धको आन्दोलनमा सहभागी भएर राजनीतिमा लाग्नुभएको हो। उहाँ वि.सं. २०२८ पछि राजनीतिक आन्दोलनमा सक्रिय हुनुभयो। २०४६ सालको आन्दोलनबाट उहाँले राजनीतिमा पहिचान बनाउनुभयो। त्यसपछि उहाँ निरन्तर महिला आन्दोलन र सामाजिक आन्दोलनमा सक्रिय हुनुहुन्छ। उहाँसँग लामो समय कांग्रेसको महिला र कानुन विभागमा काम गरेको अनुभव छ।
भुुसाल पहिलो पटक वि.सं. २०५६ को संसदीय निर्वाचनमा अर्घाखाँची–२ बाट पराजित हुनुभएको थियो। उहाँले २०६३ सालको अन्तरिम संविधान मस्यौदा सदस्यको रुपमा काम गर्नुभएको छ । नेत्री भुसाल पहिलो पटक पहिलो संविधानसभाका लागि अर्घाखाँचीबाट निर्वाचित हुनुभएको हो। दोस्रो संविधानसभाको निर्वाचनमा भने उहाँ पराजित हुनुभयो। पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ समानुपातिक प्रणालीबाट निर्वाचित हुनुभएको हो। उहाँ २०७४को चुनावमा समानुपातिक सांसद बनेपछि कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको सचेतक भएर काम गर्नुभएको छ ।
तोकिएको समयमा संघीय निर्वाचन भए लामो समय रिक्त रहेको उपसभामुख पदमा निर्वाचित भुसालको कार्यकाल ६ महिनाको हुनेछ।
पहिलो जननिर्वाचित सरकारका मन्त्री काशीनाथ गौतमकी छाेरी
भुसालकाे जन्म अर्घाखाँचीको पोखराथोकमा २०१७ साल फागुन १ गते भएको हो । उहाँका बुबा काशीनाथ गौतम नेपालको पहिलो जननिर्वाचित सरकारको मन्त्रिपरिषदमा स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो। बीपी कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य राज्यमन्त्री हुनुभएका उहाँका बुवा काशीनाथ २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि निर्वासनका लागि भारत पुग्नुभएको थियो। त्यो समयमा भुसालको परिवार १४ वर्षसम्म भारतमा बसेको थियो।

लुम्बिनी रिभ्यू