
बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले संसदबाट पास भएको नागरिकता विद्येयक त्रुटिपूर्ण भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको उल्लेख गर्दै नागरिकता विद्येयक गलत र देशका लागि घातक रहेको बताए ।
उनले भने ‘शीरमा सिन्दुर हुँदासाथ हातमा नागकिरता दिन मिल्ने विद्येयक गलत छ, नागरिकता पाउनका लागि ढोका खुल्ला राख्नुपर्छ तर निश्चित अबधि र अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल राखेर मात्र नागरिता दिनुपर्ने हाम्रो आग्रहको कुनै सुनुवाई भएन’ ।
संसदका अधिकारमाथि सरकारले चरम दुरुपयोग गरेर मुलुकलाई उल्टो गतिमा हिंडाएको आरोप लगाएका छन् । ज्ञवालीले राष्ट्रियताको विषयमा सरकारमा बिचलन आएकाले यसले देशलाई दीर्घकालीन प्रभाव पार्ने बताए ।
स्थानीय चुनावमा चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले ३४ प्रतिशत मत ल्याएकाले अहिले कसैसंग तालमेल गर्नुपर्ने आवश्यक्ता नभएपनि वाम तालमेलका लागि एमालेले ढोका खुल्ला राखेको उनको भनाइ छ । ‘कांग्रेसको नेतृत्वमा सरकारमा बस्ने, चुनावमा गठबन्धन गरेर जानेहरु कम्युनिष्ट हुन सक्दैनन्, यी गल्ती छोडेर आएमात्रै बाम तालमेल वा गठबन्धन हुनसक्छ’नेता ज्ञवालीले भने,‘एमाले आफ्नो खुट्टामा उभिएर चुनाव लड्नसक्ने अवस्थामा छ, तर बाम तालमेलका लागि हामी सधै ढोका खुला राखेका छौं ।’
उनले नेपालको आन्तरिक मामिलामा बाहिरी शक्तिसंग सत्ताका लागि साँठगाँंठ गर्नु सत्ता साझेदारी दलका नेता र सरकारको कार्यशैली देशको हितमा नभएको टिप्पणी गरे । विदेशी शक्तिसंग जसले जति हारगुहार गरेपनि प्रधानमन्त्री बनाउने सार्मथ्य एमालेसंग मात्र भएको दावी उनको छ ।

लुम्बिनी रिभ्यू