• Saturday 25th July 2026

प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युवक पक्राउ

प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने युवक पक्राउ

बाटोमा हिँडिरहेकी महिलालाई उनले साथमा भएको पैसा, मोबाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु भन्दै भिडिओ बनाएका थिए ।


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्राङ्क भन्दै महिलालाई एसिड हान्ने धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको साबिक देउराउली गाविस-४ घर भई हाल नवलपरासीको (बर्दाघाट सुस्ता पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी बस्ने २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाल छन् ।

प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को सहयोगमा व्यूरोबाट खटेको प्रहरीको टोलीले साउन ९ गते कावसोती नवलपरासीबाट भुसाललाई पक्राउ गरेको हो ।भुसालले बाटोमा हिडिरहेकी एक महिलासँग भएको पैसा, मोबाइल, गहना नदिएमा एसिड हान्दिन्छु भन्दै अमानवीय व्यवहार गरेका थिए । भुसाल ‘बदमास केटा नामक यू ट्यूव च्यानल’ का सञ्चालक हुन् ।

भुसालले बाटोमा हिडिरहेकी एक महिलालाई “साथमा भएको पैसा, मोबाइल र गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु” भनेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एसिड जस्तो अति सम्वेदनसिल पदार्थ प्रयोग गर्छु भन्दै समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाएर अपलोड गरेको आरोपमा प्रहरीले भुसाललाई पक्राउ गरेको हो । भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता भएको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौँबाट मंगलबार सात दिनको म्याद थप लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी (उप–निर्देशक) पशुपतिकुमार रायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend