• Saturday 25th July 2026

प्रदेशस्तरीय प्रशिक्षण अघि संगठन व्यवस्थापन कार्यशाला

प्रदेशस्तरीय प्रशिक्षण अघि संगठन व्यवस्थापन कार्यशाला


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशस्तरीय संगठन व्यवस्थापन तथा परिचालन विषयक दुई दिने कार्यशाला शुक्रवारदेखि बुटवलमा सुरु भएको छ ।

कार्यशालाले पार्टीको आन्तरिक जीवनमा देखा परेका समस्याको समाधानमा सहयोग पुग्ने, निर्वाचन केन्द्रित कार्यक्रमको योजना बनाउने, संगठनले गर्ने कामको योजना बनाउने लगायतका विषयमा निष्कर्ष निकाल्ने पार्टीका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताए ।

विश्वकर्माले पार्टीको संगठनात्मक अवस्था, समस्या र समाधान सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पार्टीभित्र देखिएका समस्या र तिनको समाधानका उपायबारे विचार प्रस्तुत गरेका थिए ।

पार्टीमा अध्ययनमा उदासीनता, आत्मकेन्द्रीत चिन्तन प्रवृत्तिको विकास, निर्देशन–बुझाई र कार्यान्वयनमा देखिएका समस्या, पार्टी सदस्यता र नवीकरण, जनसंगठनको काम र नीति नेतृत्वको महत्त्वका बारेमा उनले बताएका थिए ।

सो अवसरमा पार्टी केन्द्रीय संगठन विभाग प्रमुख खगराज अधिकारीले वैचारिक रूपमा स्पष्ट र संगठनात्मक रूपले सबल सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ठ सम्बन्ध बढाउनु तथा शैलीगत रूपमा जनमुखी हुनुपर्ने विचार राखेका थिए ।

कार्यशालामा प्रदेश कमिटीका सचिवालय सदस्य, प्रदेशभित्रका सबै जिल्लाका पार्टी अध्यक्ष, इन्चार्ज, सह इन्चार्ज, संगठन विभाग प्रमुख, जनसंगठनका प्रमुख लगायतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

शनिवार हुने कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षण दिनेछन् ।
प्रदेश कमिटीले साथै यही २०–२१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । जसमा उपाध्यक्षद्वय सुभाष नेम्वाङ र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिनेछन् ।

प्रदेशको प्रशिक्षणपश्चात् जिल्ला एवं वडा तथा टोल स्तरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend