• Saturday 25th July 2026

प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि मंसिर २१ सम्म

प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि मंसिर २१ सम्म


  • लुम्बिनी रिभ्यू

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वर्तमान प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरुको पदावधि आगामी मंसिर २१ गतेसम्म कायम रहनेगरी सरकारलाई लेखी पठाएको जानकारी गराउनुभएको छ ।

मन्त्रिपरिषद बैठकले निर्वाचन मंसिर ४ गते आइतबारका लागि गर्ने निर्णय गरेपछि आयोगमा विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले सो जानकारी गराउनुभएको हो । उम्मेदवारी दर्ता गरेपछि सो पद स्वतः सकिने भए पनि कानुनमा व्याख्या गरेर त्यसलाई सल्टाउनुपर्ने उहाँको भनाइ छ । आयोगले सरकारलाई २१ गतेसम्मको समयावधि लेखेर पठाएको उहाँले जानकारी गराउनुभयो ।

आयोगको परामर्शमै सरकारले आगामी मंसिर ४ गतेका लागि निर्वाचन तय गरेको उहाँले स्पष्ट पार्नुभयो । निर्वाचन सफल बनाउन आयोगले आन्तरिक तयारी गरिरहेको र थप काम तत्कालै शुरु गर्ने उहाँले बताउनुभयो ।

निर्वाचन गराउन आयोगलाई  सामान्यतः १२० दिन समय लाग्ने भए पनि सरकारले घोषणा गरेको मितिले १०७ दिनको समयावधि आयोगलाई उपलब्ध छ । निर्वाचनको आन्तरिक तयारीमा आयोग निरन्तर लागिरहेकाले सो समय आयोगलाई पर्याप्त रहेको उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले भन्नुभयो, “सरकारले तय गरेको अवधिमा निर्वाचन सफल पार्न आयोग अर्जुन दृष्टि लगाएर काम गर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र निष्पक्ष तरिकाले सम्पन्न गर्ने सबै तयारीमा आयोग लाग्छ ।”

प्रमुख आयुक्त थपलियाले निर्वाचनसम्बन्धी कानुनले कर्मचारीलाई समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरेको भए पनि अन्य अधिकारका विषयमा आयोगले परामर्श गरी टुङ्गो लगाउने बताउनुभयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारको निर्णयलाई आयोगले स्वागत गरेको बताउनुभयो । आवधिक निर्वाचनका लागि आयोग निरन्तर आन्तरिक तयारी गरिरहेकाले तोकिएको समयावधिमा निर्वाचन सफल पार्न आयोग तयार रहेको उहाँले जानकारी दिनुभयो ।

मतदाता नामावली संकलन कार्य साउन २० गते शुक्रबारदेखि स्थगित हुने उहाँले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend