गुल्मीमा नयाँ वर्षकै दिन वृद्ध दम्पत्तिले आत्महत्या गरेका छन् । त्यो पनि एउटै पासोमा । कालिगण्डकी गाउँपालिका-५ फोक्सिङ्गका ७० वर्षीय ओम बहादुर र उनकी श्रीमति ६९ वर्षीया खिमकला सार्कीले सोमबार आत्महत्या गरेका हुन् ।
दुवै जना घर नजिकैको खनियाँको रुखमा ओम बहादुरले प्रयोग गर्ने गलबन्दीमा झुण्डिएको अवस्थामा सोमबार दिउँसो फेला परेको वडाध्यक्ष थम्मनसिंह आलेले जानकारी दिए ।

उनीहरुका एक छोरा र तीन छोरी छन् । छोरा केहि दिन अघि मात्रै कुवेत गएका थिए । बुहारी र नातिनातिना घरमै छन् । तर के कारणले उनीहरूले आत्महत्या गरे भन्ने कुरा पत्ता नलागेको वडाध्यक्ष आलेले बताए । दुवै जना मजदुर गर्ने मान्छे हुन्,’ आलेले भने,‘ ७० बर्षको मान्छे किन झुण्डिए अचम्म परेका छौ ।’
यस घटनाले गर्दा नयाँ बर्षकै दिन छिमेक नै शोकमा परेको स्थानीय खुम बहादुर परियारले बताए । कहिलेकाँही श्रीमान श्रीमतीबीच मनमुटाब हुने कुरा सामान्य भए पनि घाँस काट्न गएका बुढाबुढीनै झुण्डिएपछि परिवारमा सन्नटा छाएको उनले बताए ।
आत्म हत्याको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक चुरामणी पुनको नेतृत्वमा प्रहरी टाेली घटनास्थल पुगेको थियो । घटनाको मुचुल्का गरेर शव पोष्टमार्टमको लागि जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख राजेन्द्रसिंह खड्काले बताए । (टोपलाल अर्यालले लेखेको यो समाचार नयां पत्रिकामा प्रकाशित छ ।)

लुम्बिनी रिभ्यू