• Saturday 25th July 2026

विकासे योजनामा केन्द्रीत मुद्धा लिएर चुनावी अभियानमा

विकासे योजनामा केन्द्रीत मुद्धा लिएर चुनावी अभियानमा


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधि सभाका उम्मेदार विष्णु पौडेल यो क्षेत्रको विकासे योजनामा बढी केन्द्रीत भएका छन् ।
तिनाउ–दानव कोरिडोर निर्माण र त्यहाँका प्रभावित जनताको व्यवस्थान, कालिगण्डकी–तिनाउ डाइभर्सन, भैरहवामा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमास्थलको सञ्चालन, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सञ्चालन, बुटवल–नारायणगढ सडक बिस्तार, बुटवल–बेलहिया सडक बिस्तार, बुटवलमा सिग्नेर पुल निर्माण र बुटवल–चन्द्रौटा ६ लेन सडक बिस्तार लगायतका दर्जन बढी बिकास योजना रुपन्देहीको मुहार फेर्ने परियोजनाहरु हुन् ।
लुम्बिनी गुरुयोजना, मुलुककै लामो सैनामैना चक्रपथ, मोतिपुर औद्योगिक क्षेत्र, सैनामैनामा लामिरह जलासय निर्माण, बुटवल–बेथरी सडकलगायत योजनाहरु सम्पन्न गरी रुपन्देहीलाई बिकासको रोलमोडल बनाउने परिकल्पना गरेका पूर्व अर्थमन्त्री विष्णु पौडेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।
आगामी मंसिर–४ मा हुने निर्वाचनका लागि रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो अभियान तथा जनतासँगको छलफलमा समेत आफूले सुरु गरेका, सम्पन्न भएका तथा परिकल्पना गरेका बिकास योजनामा बढी चिन्तित देखिएका छन् । राजनीतिक भाषण र अरुको आलोचना कम, बिकास योजनाबारे बढी ध्यान केन्द्रित गरेका पौडेललाई आफ्नो चुनावभन्दा बढी बिकास योजनाहरु सम्पन्न गर्नेतर्फ गम्भीर देखिन्छन् । विभिन्न सार्वजनिक कार्यक्रम तथा सभा सम्मेलनमा समेत आफूलाई अरुको टिप्पणी गर्ने फुर्सद नभएको बताउने गरेका पौडेलले आफ्नो निर्वाचन क्षेत्र मात्र नभई रुपन्देहीलाई बिकासको नमुना मानकको रुपमा स्थापित गर्नेतर्फ आफ्नो ध्यान रहेको बताउने गरेका छन् ।
बुधबार बुटवल उपमहानगरका वडा नम्बर ११ र वडा नम्बर ८ मा घरदैलो अभियानसहित पुगेका पौडेलले आफ्ना विकास योजनाहरु दोहोर्याउँदै ती योजना सफल पार्नका लागि राजनीतिक स्वार्थभन्दा माथी उठेर साझा मानसिकताले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । कसैको आलोचना र टिकाटिप्पणीबाट मुलुकको विकास नहुने कुरा स्पष्ट पार्दै पौडेलले विकासका कामहरुमा जनतालाई भ्रमित र आतंकित बनाउनेहरुसँग सचेत रहनसमेत आग्रह गरे । विकासको नाममा कसैलाई पनि घरबारविहीन नबनाइने प्रतिवद्धता व्यक्त गर्दै उनले बुटवलमा सुरु गरिएका विभिन्न विकास योजनाहरुमा राजनीतिक स्वार्थ साँधेर आतंकित पार्ने र गलत व्याख्या गरी जनता उराल्नेहरुसँग सचेत रहन आग्रह गरे । जनताको सुरक्षित बासपछि मात्रै बिकास निर्माणका काम अघि बढ्ने बताउँदै उनले मुलुकलाई समृद्धितर्फ लैजानका लागि विकास योजनाबारे छलफल गर्न आवश्यक रहेको बताए । आफूलाई चुनावमा हुने जितहारभन्दा बढी विकास योजनाबारे चिन्ता हुने गरेको उनले बताए ।
आगामी मंसिर ४ गतेको निर्वाचनमा जनताले सूर्यमा मतदान गरी अधुरा विकास योजनाहरु पूरा गर्ने जिम्मेवारी एमालेलाई सुम्पिने विश्वास व्यक्त गर्दै मुलुकलाई अब समृद्धितर्फ लैजानुपर्नेमा जोड दिए । मुलुक चरम आर्थिक संकट र बेरोजगारीमा फसेकोप्रति चिन्ता व्यक्त गर्दै पौडेलले वर्तमान गठबन्धन दलले देशलाई सही ट्रयाकमा हिँडाउन नसकेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend