• Saturday 25th July 2026

सर्वाधिक मत ओलीकाे, सर्वाधिक मतान्तर रविकाे

सर्वाधिक मत ओलीकाे, सर्वाधिक मतान्तर रविकाे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । चितवन २ बाट रवि लामिछानेले विशाल अन्तरालको जीत हासिल गरेका छन् । उनले यो चुनावकै सर्वाधिक अन्तरको जीत हासिल गर्ने निश्चित प्रायः छ । तर, सर्वाधिक मतमा भने उनी दोस्रो स्थानमा छन् ।

अहिलेसम्मको परिणाममा सर्वाधिक मत ल्याउने उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओली हुन् । झापा ५ बाट विजयी ओलीले मुख्य प्रतिस्पर्धीभन्दा दोब्बर मत ल्याएका छन् । ओलीले ५२ हजार ३१९ मत ल्याएर चुनाव जित्दा उनका मुख्य प्रतिस्पर्धी खगेन्द्र अधिकारी २३ हजार ७४३ मतमा सीमित भए । अधिकारीसँग ओलीले २८ हजार ५७६ मतको अन्तर कायम गरेका छन् ।

संयोगले २०७४ सालको संसदीय चुनावमा पनि ओलीले लगभग यही अन्तरको जीत हासिल गरेका थिए । त्यसवेला जीतको अन्तर २८ हजार ८४२ मत थियो । उक्त चुनावमा पनि ओली सर्वाधिक मत ल्याउने उम्मेदवार थिए । सर्वाधिक मतान्तरमा भने उनलाई एमालेकै पार्वत गुरुङले उछिनेका थिए ।

सर्वाधिक मतान्तरको रेकर्ड यसपालि रविको नाममा गएको छ । अन्तिम परिणामअनुसार उनले ४९ हजारभन्दा बढी मत ल्याएका छन् भने प्रतिस्पर्धीसँग उनको ३४ हजारभन्दा बढी मतको दूरी छ । पाँच महिनाअगाडि मात्रै पार्टी निर्माण गरेर चुनावमा होमिएका व्यक्तिका निम्ति यो आफैंमा आश्चर्यजनक सफलता हो ।

अर्कोतर्फ ओलीले प्राप्त गरेको मत पनि उनका निम्ति र एमालेका निम्ति उत्साहजनक हो । पछिल्लो केही समयदेखि ओलीको व्यक्तित्वमा ह्रास आएको र लोकप्रियता ह्वात्तै घटेको चर्चा भइरहेको थियो । कतिपयले मिडियाले झापामा उनलाई यसपालि चुनाव जित्नै चुनौती रहेको भनेरसमेत टिप्पणी गरेका थिए ।

तर, झापा ५ का मतदाताले फेरि पनि ओलीमाथि विश्वास देखाएका छन् । यस क्षेत्रबाट ओलीले चुनाव जितेको यो छैटौंपटक हो । २०४६ यता हरेक चुनावमा उनी यही क्षेत्रबाट लड्दै आएका छन् । २०६४ सालको पहिलो संविधानसभामा बाहेक हरेक चुनावमा उनी विजयी भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend