• Saturday 25th July 2026

बुटवल बजार व्यवस्थित बनाउने अभियान शुरु

बुटवल बजार व्यवस्थित बनाउने अभियान शुरु


  • लुम्बिनी रिभ्यू

बुटवल ­ । बुटवललाई व्यवस्थित बनाउन भन्दै बुटवल उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्र, अत्यावश्यक सेवा क्षेत्र, मुख्य चोकहरु, ठेला, इरिक्सा व्यवस्थापनको काम शुरु गरेको छ ।
सोमबारदेखि अस्पताल लाइनमा अत्यावश्यक तथा अस्पतालमा आउनेजाने बाहेकका सवारी पार्किङ तथा फुटपाथको व्यापार व्यवसाय हटाएको छ । निर्वाचन आचारसंहिता सकिएलगत्तै बुटवल नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने अभियान शुरु गरिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।
सडकको क्षेत्राधिकार मिचेर गर्ने व्यवसाय, पार्किङ, निर्माण सामग्री र सडक, फुटपाथ अवरोध हुने वस्तु नराख्न आग्रह गर्दै अटेर गरिएमा कानून अनुसार कारबाही प्रक्रिया अघि बढाउने नगरप्रमुख पाण्डेयले बताए । ‘बुटवल नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउनका लागि सबैले उत्तिकै भूमिका निर्वाह गर्न जरुरी छ, जसका लागि सबैले सडक क्षेत्रमा व्यवसाय नगर्ने, पार्किङ नगर्ने या नियमानुसार व्यवस्थापन गर्ने काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ नगरप्रमुख पाण्डेयले भने ।
अहिले ठेला व्यवस्थापनको काम शुरु गरेको बताउँदै उनले अनधिकृत रुपमा सडक क्षेत्रमा ठेला नराख्न, इरिक्सा चोकमा पार्किङ गरेर सवारी जाम गर्ने, एम्बुलेन्स आवागमनमा समेत अवरोध पु¥याउनेलाई कानुनअनुुसार कारबाही गर्ने बताए । बुटवलले केहीदिनअघिदेखि माइकिङ गर्दै सडक क्षेत्रमा ठेला नराख्न र पार्किङ व्यवस्थापन गर्न आह्वान गर्दै आएको थियो ।सडकक्षेत्रमा राखिएका मोटरसाईकल रिकण्डिशन, वर्कसप, शोरुम, फर्निचर व्यवसाय, निर्माण तथा अन्य सबैखालका व्यापार व्यवसाय हटाउन आह्वान गरिसकिएकाले छिटै नै अनुगमन गरी कारबाही अघि बढाउने नगरप्रमुख पाण्डेयले बताए ।
यस्तै, नगरभित्र ठूलो आवाजमा हर्न बजाउने र मोटरसाइकल मोडीफाई गर्ने, ध्वनि प्रदुषण गर्नेहरुलाई कारबाही थालिएको छ । ट्राफिक प्रहरीसँगको समन्वयमा रातीको समयमा समेत ध्वनि प्रदुषण गर्नेलाई अनुगमन गरी कारबाही अघि बढाएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए । उनले सडक क्षेत्रमा ठेला लगाएर अखाद्य मासु र मदिराको समेत व्यापार गर्ने गुनासो आएकोले त्यस्ता व्यवसायलाई कडा कारबाही गर्ने निर्णय भएको बताए । उनले बुटवल क्षेत्रका हाटबजार व्यवस्थापन गर्ने र तोकिएका स्थानमा बाहेक अन्यत्र बजार लगाउन नपाउने गरी हाटबजार व्यवसायीलाई आग्रह गरेको समेत जनाए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend