रुपन्देही । तिलोत्तमा मेलामा कलाकारहरुले दैनिक रुपमा बेजोड प्रस्तुति दिइरहेका छन् । उनीहरुको प्रस्तुतीले दर्शकहरु तानिइरहेका छन् । न गर्मी न जाडो ठिक्क मौसममा दर्शकहरु धीत मारेर रमाइलो गरिरहेका छन् । कोही मेलाका नया सामान किनेर त कोही मेलाका परिकार खाएर रमाइलो गरीरहेका भेटिन्छन् ।
यसैबीच तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा नाइट कन्सर्ट अन्तरगत सोमबार गायिका बबिता बानिया (जेरी) ले दर्शकहरुबीच रोचक प्रस्तुति दिइन् ।
जेरीले केही भावुक र केही हाँस्य विधाका गीतहरु प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन प्रदान गरिन् । भर्खरै पतिसंग सम्बन्ध बिच्छेद गरेकी जेरीले भावुक गीत गाउँदा दर्शकहरुले उत्सुकताका साथ हेरे र मौन सहानुभूति प्रकट गरे । उनका हाँस्य विधाका गीतमा हौसला प्रकट गरेर तालीले साथ दिए ।
मेलामा लोकप्रिय गायिका गायिकाहरु भागिरथ चलाउने, हाँस्य कलाकार पुर्खे बा, रितु कंडेल, बिकास भट्टराई, उद्घोषक दुर्गा गुरुङ लगायतले रोचक प्रस्तुति दिए । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका सांस्कृतिक उपसमिति संयोजक युवराज पराजुलीले बताए ।
यसैबीच मेलामा मंगलबार लोकप्रिय गायक गायिकाहरु बद्री पंगेनी, शान्तारानी परियार, विक्रमबाबु विक, भुवन अधिकारी, दिपेन्द्र ओली, उद्घोषक गोपाल अधिकारी, विकास भट्टराई लगायतका प्रस्तुति रहनेछ । नाईट कन्सर्टमा डिजे बिक्की ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएका छन् ।
तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेपछि दर्शक उपभोक्ताकै माग अनुसार मेलाको अवधि दुई दिन थप गरिएको मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए ।
मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । मेला २८ मंसिरमा सकिने छ ।

लुम्बिनी रिभ्यू