
बुटवल । पत्रकार महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले प्रजनन् स्वास्थ्य तथा नेतृत्व विकास सम्बन्धी तालिम बुटवलमा आयोजना गरिएको छ ।
संचारिका समूह नेपालको आयोजनामा लुम्बिनी प्रदेशका सम्पादक तथा सहसम्पादक तहका महिलाहरुलाई तीन दिने तालिम दिइएको हो ।
तालिम समापन समारोहमा बोल्दै आन्तरिक मामिला, कानून तथा संचार मन्त्रालयका सचिव कोमल धमलाले महिलाले नेतृत्व लिएका संघसंस्था तुलनात्मक रुपमा अब्बल र पारदर्शी हुने बताए । उनल संचारमा अझैपनि महिलाहरुको संख्या कम रहेको बताउदै त्यसलाई परिपुर्ति गर्न लाग्नुपर्ने बताए ।
सचिव धमलाले समाजमा लिंगको आधारमा विभेद हटाउन अवस्था र व्यवस्थाबीचको खाडल पुर्नुपर्ने बताए । महिलाले नेतृत्व गरेको संस्थामा अनियमितता, विवाद नहुने अध्ययनले नै देखाएको बताउँदै उनले अब महिलाहरु नेतृत्वमा आउनुपर्ने धारणा राखिन् । उनले भनिन्, “नेतृत्व विकास गर्न सकिने विषय हो, नेतृत्व विकासका कार्यक्रम र अवसर प्रदान गरेर महिलाहरुलाई नेतृत्वमा ल्याउन सकिन्छ।”
कार्यक्रममा संचारिकासमूह नेपालका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले लेखनसँगै नेतृत्व विकास गर्न आवश्यक रहेको बताइन् । “अब पत्रकार महिला संवाददाता मात्र होइन सम्पादकीय भूमिकामा पनि आउनुपर्छ, त्यसका लागि हामीले क्षमता बढाउन र अवसर खोज्न आवश्यक छ”, उनले भनिन् ।
संचारिका समूहका महासचिव बसन्ती बास्तोलाले पत्रकार महिलाहरुलाई नेतृत्वदायी भूमिकामा पुर्याउन सस्थाले विभिन्न गतिविधि गर्दै आएको बताइन् ।

संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको क्षमता विकासका लागि प्रदेश र जिल्ला अन्तर्गतका निकायसँग पनि समन्वय गरी निरन्तर काम गर्दै आएको जानकारी गराइन् ।
तिन दिनसम्म सञ्चालन भएको तालिममा पहिलो दिन नेपाल चेकका सम्पादक दीपक अधिकारीले सम्पादकीय क्षमता, सम्पादक र संवाददाताबीचको सम्बन्ध लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिमको दोस्रो दिन प्रेस काउन्सिलका प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा महिला र नेतृत्व विकास र न्युज एजेन्सी नेपालका अध्यक्ष कृष्णा पौड्यालले नेतृत्व विकास, प्रजनन स्वास्थ्य लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तेस्रो दिन अधिवक्ता डा. शर्मिला श्रेष्ठले यौन तथा प्रजनन स्वास्थ्य र कानुनी अधिकारका बारेमा प्रशिक्षण दिएका थिए ।

लुम्बिनी रिभ्यू