अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकाको भर्जिनिया राज्यमा बस्दैआउनुभएका महेश पन्थी रहेका छन् । बिरामी भएर गत चैत २६ (अप्रिल ८ तारिख) गते उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँसमेत गरी अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।
मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले दिनुभएको जानकारीअनुसार १५ जनामध्ये सबैलाई कोरोना सङ्क्रमित भनेर पुष्टि गर्ने मजबुत आधार त छैन, तर कोरोना सङ्क्रमणका का
रण मनोवैज्ञानिक त्रासले केही नेपालीको हृदयघातका कारणले पनि मृत्यु भएको देखिन्छ । उहाँ भन्नुहुन्छ, “अरु रोग लागेका व्यक्तिमा कोरोनाको सङ्क्रमणले छिटो आक्रमण गर्ने र मानिसको रोगप्रतिरोधी क्षमता कमजोर गराइ मृत्यु नजिक पु¥याउने गरेको देखिन्छ ।”
यसैबीच एक महिना अगाडि मृत्यु भएका विष्णुकुमार राईको शवलाई मङ्गलबार अन्तिम संस्कार गर्न सफल भएको भण्डारीले जानकारी दिनुभयो । अमेरिकामा निधन भएका नेपालीको शवलाई अन्तिम संस्कार गर्नका लागि परिवारका सदस्यसँगको समन्वयमा शवदाहगृहसम्म पु¥याउने काममा भण्डारी महत्वपूर्ण सहयोग गर्दै आउनुभएको छ ।
एनआरएन ग्लोबल हेल्थ कमिटीका संयोजक डा सञ्जीव सापकोटाले अमेरिका, बेलायत, युएई, टर्की, आयरल्याण्ड, नेदरल्याण्ड, जापानमा गरी ५४ नेपालीको मृत्यु भएको राससलाई जानकारी दिनुभयो । एनआरएनएले आफ्नो संयन्त्र परिचालन गरी वैशाख १३ (अप्रिल २५) सम्म सङ्कलन गरेको तथ्याङ्कमा विभिन्न २५ देशमा रहेका दुई हजार ३२ नेपालीमा कोरोनाको सङ्क्रमण देखिएको छ । तीमध्ये ४३४ जनाले आफूलाई कोरोना भाइरस सङ्क्रमणबाट मुक्त गराउन सफल भएको छ । सङ्ख्याका आधारमा सबैभन्दा बढी अमेरिकामा एक हजार सङ्क्रमित भएको र अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३३ जना रहेको तथ्याङ्क छ ।
यता नेपालमा सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चार जनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उहाँका अनुसार सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।
आज थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् ।

लुम्बिनी रिभ्यू